बालेन शाहमाथि दुर्गा प्रसाईंको आरोप : पश्चिमाको गोटी बनेर पर्दा पछाडिबाट खेलिरहे


काठमाडौं, १३ असोज । दुर्गा प्रसाईंले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहमाथि गम्भीर आरोप लगाएका छन् । उनले बालेनलाई पश्चिमाहरुको गोटी बनेको र जेन–जीको आस्था र विश्वासमा पश्चिमाको गोटी बनेर खेलिरहेको आरोप लगाएका छन् ।

आज फेशबुकमा आफ्नो धारणा राख्दै प्रसाईंले जेनजी आन्दोलनमा पश्चिमाहरुको घुसपैठ भएको आरोप लगाएका हुन् । उनले बालेनबारे भनेका छन्,‘बालेनको कालो चस्माभित्रको वास्तविकता नेपाल र नेपालीको भाग्य र भविष्य निर्माणका लागि नभई पश्चिमाको स्वार्थका लागि परिचालित हुँदै आएको छ ।’

प्रसाईंले फेशबुकमा लेखेका छन्-

जेन जी आन्दोलन जुन विचारका साथ उठेको थियो । त्यो सही र समय सापेक्ष थियो ।२०८२ भाद्र २३ गते दिनको– २ बजेसम्म ठिक रहेको आन्दोलनमा जब पश्चिमाहरुको घुसपैठ भयो, त्यतिबेलादेखि अवस्था बिग्रियो। बालेनलाई पर्दा पछाडिबाट परिचालन गरेर सामाजिक सञ्जालमा स्टाटस लेख्न लगाइयो र त्यसपछि सिंहदरबार र सर्वोच्च अदालत जस्ता सम्पदामा आगजनी गर्ने काम भयो।

सिंहदरबार र सर्वोच्च अदालतमा आगो लगाउनेहरुलाइ पानी बाँडियो, तर सिहदरबार र सर्वोच्च अदालतले आफु खरानिहुनु अघि पानी खोजिरहे। तर बालेनले भने दमकल थुनेर राखे अनि उनी चुपचाप हेरेर बसिरहे।

जेन जीको आस्था र विश्वासमा पश्चिमाको गोटी बनेर उनि पर्दा पछाडिबाट खेलीरहे । यसको ज्वलनत उदाहरण हो अहिले बनाइएको बारबारा फाउण्डेसनको मन्त्री मण्डल र यिनका सल्लाहकारहरु । अब जेन जी भाइबहिनीहरूले मात्र नभई सम्पूर्ण नेपाली जनता र इतिहास ले पनि उनलाइ राम्रोसँग चिन्न जरुरी छ। बालेनको कालो चस्माभित्रको वास्तविकता नेपाल र नेपालीको भाग्य र भविष्य निर्माणका लागि नभई पश्चिमाको स्वार्थका लागि परिचालित हुँदै आएको छ ।

अर्कोतर्फ बाटोमा सडक बत्ती ,विद्यार्थीलाई छात्रवृत्ति कोटा र एम्बुलेन्स वितरणको नाममा बालेनले आफ्नो सम्पति बेचेर वाँडे जस्तो हुँकार गरिरहेछन् । तर ती कुनै बालेनका निजि सम्पत्ति होइनन्, र उनले नीजि श्रोतबाट पुर्याएको मानविय सेवा पनि होइन । यी सबै राज्यको सम्पत्ति हुन्। नागरिकले पाउने सुविधा हिजो पनि थियो, आज पनि निरन्तर छ। फरक के मात्र हो भने अघिल्लो समयमा कुनै पनि मेयरले मिडियाबाजी गरेका थिएन्न । अहिले मिडियाबाजी बढी भएको छ।
देश र नागरिकको रक्षार्थ सबै सजक बनौं र कालो चस्माभित्रको असली कर्तुत बुझ्ने प्रयास गरौं।

सिंहदरबार जलेर गयो, नेपालीको अमिलो मनभयो !
इतिहासले छोड्ने छैन यो काल खण्डका रक्त पिपासुहरुलाइ !!