काठमाडौं, १३ असोज । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले अहिलेका मुख्य नोहरुलाई जतिसक्दो छिटो बिदा दिनुपर्ने बताएका छन् । उनले संविधान जारी भएपछिको आजसम्मको राजनीतिक अभ्यासको स्वेतपत्र जारी गरिनुपर्ने पनि माग गरेका छन ।
आज (सोमबार) पत्रकार सम्मेलन गर्दै भुसालले यस्तो माग गरेका हुन् । आजसम्म सार्वजनिक पदमा बसेकाहरुको सम्पत्ति छानबिन गरिनुपर्ने र स्रोत नखुलेको सबै सम्पत्ति राष्ट्रियकरण गर्ने संकल्पसमेत गरिनुपर्ने उनको भनाई छ । उनले लोकतान्त्रिक स्थिरताका साथ नेपालको समृद्धिको पक्षमा रहने अन्तर्राष्ट्रिय समूदाय, विशेषगरि नेपालका छिमेकीहरुलाई विश्वासमा लिनुपर्ने पनि सुझाएका छन् ।
उनले कुनैपनि निहुँमा निर्वाचनलाई बिथोल्ने र संविधानलाई असफल पार्ने सबै परिस्थितिको सामना गर्नसक्ने बलियो लोकतान्त्रिक शक्ति निर्माण गरेर मुलुकलाई निकास दिनुपर्ने मत राखेका छन् । उनले अहिलेको समय असाधारण भन्दै यसको लागि समयले आफूहरुसँग असाधारण संकल्पको माग गरेको उल्लेख गरेका छन् । उनले अलमल र बहानाबाजीको मूल्य अपूरणीय हुनेपनि चेतावनी दिएका छन् ।
भुसालले भदौ २४ गतेको प्रदर्शनमा भने पपुलिष्ट, घुसपैठिया र अराजक सामाजिक लफङ्गा तत्वहरुले देशव्यापी आगजनी, तोडफोड र लुटपाटमा उपयोग गरेको आरोप लगाए ।






प्रतिक्रिया