काठमाडौं, ३० असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले इच्छाशक्ति हुने हो भने कांग्रेसले आगामी २ महिनामा महाधिवेशन गर्न सक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मंसिर महिनामा कांग्रेसको महाधिवेशन हुने र यो सम्भव पनि रहेको बताएका हुन् । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले आगामी फागुनको निर्वाचन अगाडि नेतृत्व परिवर्तन होस् भन्ने चाहेको उनले बताए ।
साथै, उनले पार्टी सभापति शेरबहादुर देउवाले कार्यवाहक तोकेर सक्रिय राजनीतिबाट विदा लिएको बताएका छन् । उनले युवा भनेको विचार, सोच, जोश, जाँगर र उत्साह रहेको बताउँदै अबको महाधिवेशनले डा.शेखर कोइरालालाई सभापति बनाउनुपर्ने धारणा राखे । शेखर कोइरालामा सपना र विचार भए पनि उनले अहिलेसम्म नेतृत्वको अवसर नै नपाएको बताए ।
नेता कोइरालाले कांग्रेसले अब कुनै पार्टीसँग चुनावी गठबन्धन नगर्ने र गर्न पनि नहुने बताए । उनले भने, ‘अब नेपाली कांग्रेसले हिजोको जस्तो गठबन्धन गरेर अर्को पार्टीको चुनाव चिन्हमा भोट हाल भनेर जाँदैन र जान पनि हुँदैन । आज त्यसैकारणले पनि जनतामा निराशा छाएको हो । अब यो गल्ती कांग्रेसले दोहोर्याउँदैन ।’
उनले जेन–जीले उठाएको मागमा कांग्रेस सहमत रहेको बताए । जेन–जीले उठाएको आवाजहरु आफूहरुले पहिलादेखि नै उठाउँदै आएको पनि उनले बताए । ‘जेन–जीले जुन आवाज उठाए, यसमा नेपाली कांग्रेस सम्मान गर्छ । तर, २३ र २४ गते जुन घटना भयो, त्यसको घोर निन्दा गर्छु,’– उनले भने ।
नेता कोइरालाले आन्दोलनले ल्याएको परिवर्तनलाई सहर्ष स्वीकार गरेर निर्वाचनको तयारीमा लाग्नुपर्ने र संसद् पुनर्स्थाना भन्दा पनि अब आफूहरुको प्राथमिकता निर्वाचन रहेको बताए । ‘२०४६ साल २०६२/०६३ भन्दा पनि यो ठूलो आन्दोलन छ । आन्दोलनले ल्याएको उपलब्धीलाई, परिवर्तनलाई हामीले सहर्ष स्वीकार गर्नुपर्छ । हामी निर्वाचनको लागि तयारी हुन्छौं र निर्वाचनमा जानुपर्छ । पार्टीले संस्थागत रुपमा निर्वाचनमा जाने घोषणा गरिसकेको छ । निर्वाचनमा जान्छ । संसद् पुनर्स्थापनाभन्दा पनि अब हाम्रो प्राथमिकता निर्वाचन हो,’– उनले भने ।




प्रतिक्रिया