फागुन २१ गतेको निर्वाचनको लागि सन्तोषजनक प्रगति भएको छ : प्रधानमन्त्री कार्की


काठमाडौं, १ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले चुनावको लागि वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिईएको विश्वास दिलाएकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग आज गृहमन्त्री र अन्य मन्त्रीहरुको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग भएको छलफलबारे जानकारी दिँदै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।

उनले भने,‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू, गृहमन्त्री र अन्य मन्त्रीहरूसमेतको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग निर्वाचनको तयारी र सुरक्षा अवस्थाका विषयमा आज शीतलनिवासमा गम्भीर छलफल गरेका छौँ। चुनावको वातावरण तयार गर्न भइरहेका प्रयासको समीक्षा भएको छ । सबै सुरक्षा प्रमुखहरुले उच्च मनोबलका साथ सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराउनुभएको छ। चुनावको वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिइएको छ। राजनीतिक दलहरूसँग संवादको सुरुवात भएको छ ।’

उनले फागुन २१ मा निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको पनि दाबी गरेकी छिन् । उनले भनेकी छिन्–‘तयारी अझै द्रूततर गतिमा अघि बढाइँदै छ। सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौँ।