अब जनताले नै निर्मल निवास घेरेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारायणहिटीमा ल्याएर राजा बनाउँछन् : दुर्गा प्रसाईं (भिडिओसहित)


काठमाडौं, ४ कार्तिक । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले अब हुने आन्दोनलमा जनताले निर्मल निवास घेरेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारायणहिटीमा ल्याएर राजा बनाउने दाबी गरेका छन् । पत्रकार ऋषि धमलाले प्राइम टिभीको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ को लागि हिजो (सोमबार) प्रसारित कार्यक्रममा सोधेको ‘त्यसो भए पूर्वराजा ज्ञानेन्द्र शाहलाई तपाईंले राजा बनाएर नारायणहिटीमा ल्याउनुहुन्छ?’ भनेर सोधेको प्रश्नमा प्रसाईंले यस्तो जवाफ फर्काएका हुन् ।

उनले भने,‘मैले ल्याउनै पर्दैन ? यो आन्दोलनले के गर्छ भने निर्मल निर्वास घेरेर सबै जनता गएर बोकेर राजालाई नारायणहिटीमा ल्याएर राख्छन् । हामीलाई राजा चाहिएको छ।’उनले आफूलाई जेनजी आन्दोलनपछि जंग्गी अड्डा बोलाईएको बताए । सो क्रममा आफूलाई प्रधानमन्त्री बन्न अफर आएको पनि उनले खुलासा गरे ।

उनले भने,‘मलाई प्रधानमन्त्रीको अफर पनि गरेको हो, गृहमन्त्रीको पनि अफर आएको हो, तर म कसैको अफर मान्नेवाला होईन । म अर्काले बनाएको पद खादिनँ । नेपाली जनताले र यो राष्ट्रले खोज्यो भने म प्रधानमन्त्री बन्छु ।’उनले आफूले अहिलेसम्म आन्दोलनको नाममा ७० करोडजति सकाएको पनि सुनाए । आफूलाई आजसम्म पूर्वराजा ज्ञानेन्द्र शाहले कुनै सहयोग नगरेको उनको दाबी छ । उनले छठपछि आफूहरुले आह्वान गरेको आन्दोलनमा सरिक भईदिनको लागि सबै नेपाली जनतालाई अपिल गरेका छन् ।