गगन थापासँगको भेटवार्तापछि शेखरको प्रतिक्रिया : पार्टी फुट्न दिन्नँ, विशेष महाधिवेशन रोकौं


काठमाडौं, १४ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले कुनैपनि हालतमा पार्टी फुटाउन नदिने बताएका छन् । महामन्त्री गगन थापासँगको छलफलपछि शेखरको यस्तो प्रतिक्रिया आएको हो । उनले आफू नियमित महाधिवेशनको पक्षमा रहेको पनि खुलाए । त्यसको लागि मंसिरबाटै अधिवेशनको प्रक्रिया थालिनुपर्ने उनको मत छ ।

गगनसँगको छलफलपछि नेता कोइरालाले पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा भने,‘म पार्टी फुट्न दिन्नँ । रेगुलर महाधिवेशनमा जानुपर्छ । बरु, मंसिरबाट वडा अधिवेशन सुरु गरौं, अधिवेशन सुरु गरिएपछि महाधिवेशन पुस, माघसम्म सकिन्छ, फागुनको चुनावअघि महाधिवेशन सम्पन्न हुँदा राम्रो हुन्छ । तर, कुनैपनि हालतमा म पार्टी फुट्न दिन्नँ ।’

उनले विशेष महाधिवेशन रोक्नुपर्ने आफ्नो मत रहेको पनि स्पष्ट पारे । शेखरसँगको भेटवार्तालगत्तै महामन्त्री थापा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगको छलफलमा जुटेका छन् । हिजोको केन्द्रीय कार्यसमितिको बैठकमा थापा उपस्थित् थिएनन् । थापा अनुपस्थित् भएपछि खड्काले आजको बैठक दिउँसो १ बजेको लागि बोलाएका हुन् । योबीचमा थापासँग आफूले थप सम्वाद चाहेको उनको प्रष्टीकरण थियो ।