काठमाडौं, १५ कार्तिक । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले एमालेमा फर्कनका लागि गरेको अपिललाई स्वागत गरेका छन् । एमालेको निर्माणमा योगदान गरेका कमरेडहरूलाई पुनः यो आन्दोलनमा समाहित हुनका लागि पार्टी अध्यक्ष ओलीले गरेको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक भएको उनको भनाई छ ।
भट्टराईले फेशबुकमार्फत ओलीको आह्वानलाई स्वागत गरेका हुन् । जनताको बहुदलीय जनवादको मार्ग निर्देशन र नेकपा एमालेको अगुवाईमा सिगों वाम आन्दोलनलाई एकताबद्ध बनाउनु आजको राष्ट्रिय कार्यभार भएको पनि उनले उल्लेख गरेका छन् । जनताको बहुदलीय जनवादको सिद्धान्त “शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धाको माध्यमबाट नेपाली समाजको प्रगतिशील रूपान्तरणमा” बिश्वास गर्नेहरूको एउटा केन्द्र बन्नैपर्ने र त्यो एमाले भएको उनको भनाई छ । उनले निषेध, प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्वमार्फत नेकपा एमालेलाई सुदृढ र एकताबद्ध बनाउन सकिने विश्वास लिएका हुन् ।
यस्तो छ उनको धारणा :
स्वागतयोग्य आह्वान
नेकपा एमालेको निर्माणमा योगदान गरेका कमरेडहरूलाई पुन: यो आन्दोलनमा समाहित हुनका लागि पार्टी अध्यक्षले गर्नु भएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ ।
जनताको बहुदलीय जनवादको मार्ग निर्देशन र नेकपा एमालेको अगुवाईमा सिगों वाम आन्दोलनलाई एकताबद्ध बनाउनु आजको राष्ट्रिय कार्यभार हो ।
जवजको सिद्धान्त “शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धाको माध्यमबाट नेपाली समाजको प्रगतिशील रूपान्तरणमा” बिश्वास गर्नेहरूको एउटा केन्द्र बन्नै पर्छ त्यो एमाले हो । निषेध, प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्व मार्फत नेकपा एमालेलाई सुदृढ र एकताबद्ध बनाउन सकिन्छ ।
एकताको आधार
-जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्ने ।
-पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको योगदान र निरन्तरतालाई स्वीकार गर्ने ।
-२०८२ भाद्र २३ र २४ पछि उत्पन्न परिस्थितिको गंभीर र बस्तुनिष्ठ समिक्षा गर्ने र पार्टीको बहुआयामिक पुनर्गठन गरी आगामी प्रतिस्पर्धामा नेकपा एमालेलाई विजयी बनाउने ।
-नेकपा एमालेको नेतृत्वमा आर्थिक/ सामाजिक रूपान्तरण गरी सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने ।
कमरेडहरू, आउनुहोस यिनै मान्यतामा हातेमालो गरौ ।




प्रतिक्रिया