काठमाडौं, १५ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता नीरज आचार्यले सरकारमा बसेका मन्त्रीहरुले स्टन्ट गरेको र गिरोह सञ्चालन गरेर दलहरुलाई धम्की दिएको भन्दै आलोचना गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता आचार्यले सरकार निर्वाचनको वातावरण बनाउनतर्फ उद्धत नभएको आरोप लगाए ।
उनले भने,‘यो चुनाव चुनाव भनेर ज्ञानेन्द्र शाहले २०६२ सालको माघमा गराईएको मोडलको चुनावको सपना नदेखियोस । त्यो कोशिस नगरियोस । चुनाव लोकतन्त्रलाई ट्रयाकमा ल्याउनको लागि सबै दलहरुलाई सहज ढंगले, शान्तिपूर्ण ढंगले भाग लिने विधि अपनाईयोस । सबै जनताले भयरहित तरिकाले निर्वाचनमा भाग लिने परिपाटी निर्माण गरियोस । शान्ति, सु–व्यवस्था र सुरक्षा कायम गरियोस । निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरण सरकारले बनाओस । सरकारमा बसेर स्टन्ट गरेर, सरकारमा बसेर सरकारका जिम्मेवार मन्त्रीहरुले गिरोह सञ्चालन गरेर गिरोहरुमार्फत दलहरुलाई धम्की दिएर शान्तिपूर्ण निर्वाचन सम्पन्न हुन सक्दैन ।’
उनले निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरण बनाए दलहरु निर्वाचनमा भाग लिन तयार रहेको बताए । तर, सरकार त्यस दिशामा नभई गिरोह सञ्चालन गरेर दलहरुलाई धम्की दिन उद्धत रहेको भन्दै यसरी शान्तिपूर्ण निर्वाचन सम्पन्न नहुने उनको चेतावनी छ ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अहिले मुलुक अत्यन्तै अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको बताए । उनले भने,‘हामी आज अत्यन्तै अप्ठ्यारो परिस्थितमिा छौं । देश चौतर्फी संकटको भूमरीमा छ । कसरी निकास दिने भन्ने सन्दर्भमा छलफल केन्द्रित गरेका छौं ।’ भदौ २३ र भदौ २४ गते जेनजी पुस्ताले सुरु गरेको आन्दोलनको उठान र बैठानमा ठूलो उतारचढाव देखिएको पनि आचार्यले स्मरण गराए । उनले भने,‘भदौ २३ गतेको जेन–जीको आन्दोलनमा विहान ११ बजेसम्म शान्तिपूर्ण प्रदर्शन थियो । भ्रष्टाचारको अन्त्य, सुशासन कायम गर्ने, र बन्द गरिएका सामाजिक सञ्जाल खोल भनिएको थियो । तर, आन्दोलन हाईज्याक गरियो ।’
उनले अहिले जेन–जीको टाउकोमा स्वार्थ समूहले आ–आफ्ना मागहरु जेनजीको माग भन्दै उनीहरुको टाउकोमा थोपर्ने काम गरेकोमा आलोचना गरे । उनले भने,‘जेन–जी पुस्ताको टाउकोमा अहिले जे जे माग चाहिएकोहरुले जेनजीको माग भनेर झोस्ने काम गरियो । शान्तिपूर्ण प्रदर्शन हाईज्याक गरेर संसद् भवनमा हमला गर्ने र गोली काण्ड मच्चाउने, हत्याकाण्ड मच्चाउने परिस्थिति भयो, त्यो अत्यन्तै खेदजनक छ । आन्दोलन हाईज्याक भयो भनेर आन्दोलनमा आएकाहरुलाई घर फर्कनको लागि आह्वान गरेका थिए । म तिनीहरुलाई धन्यवाद भन्न चाहन्छु ।’
आफ्नो पुस्तापनि संघर्षबाट आएको स्मरण गराउँदै आचार्यले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको लागि ठूलो योगदान गरेको सुनाए । उनले भने,‘हामी पनि संघर्ष गरेर आएका व्यक्ति हौं । गणतन्त्रको स्थापना गर्न र राजतन्त्रको अन्त्य गर्न लडाईं लडेर आएको हो । हाम्रो पुस्ता पनि किशोर अवस्था आन्दोलनमा बिताएको पुस्ता हो । हाम्रो पनि जेनजी पुस्ताप्रति लगाव छ । संविधानलाई घाईते बनाउनेदेखि, संसद् विघटन गर्नसम्मलाई जेनजी आन्दोलनको माग भनियो । अहिले त नेता फेर भनियो । यो त जेनजीको माग थिएन ।’
सो क्रममा उनले हिजोमात्रै प्रधानमन्त्री सुशीला कार्कीले सम्पादकहरूसँग गरेको अन्तरक्रियाको क्रममा कांग्रेस, एमाले र माओवादीको नेतृत्वलाई विश्राम लिन दिएको सुझावको सन्दर्भमा पनि आलोचना गरे । उनले भने,‘हिजो प्रधानमन्त्रीले सम्पादकहरुसँगको सम्वादमा देउवा, ओली र प्रचण्डको मुख हेर्न चाहँदिनँ भन्नुभयो भन्ने कुरा आयो, यो अभिव्यक्ति खेदजनक छ । उहाँको जिम्मेवारी त्यो हाईन ।’
उनले वर्तमान सरकारसँग फागुन २१ गते चुनाव सम्पन्न गर्ने, भदौ २३ र २४ गतेको घटनाको सत्यतथ्य बाहिर ल्याउन न्यायिक छानबिन गर्ने र शान्ति सुव्यवस्था कायम गर्ने मुख्य म्याण्डेट रहेको सुनाए । उनले भने,‘सरकारको काम स्टन्ट गर्ने होईन । दलहरुतिर औंला तेर्साईएको छ । दलहरुलाई उपेक्षा गरेर वा नियन्त्रण गरेर, उनीहरुको भूमिकालाई समाप्त गरेर निर्दलीय चुनाव गराउने खोजेको हो ? नेताहरुलाई स्थानहद गरेर, पासपोर्ट रोक्का गरेर चुनाव हुन्छ ? सरकारका मन्त्रीहरुले स्टन्ट गरेर चुनाव सम्भव छ त ?’
उनले चुनावको वातावरण बनाउने काम सरकारको भएको भन्दै वातावरण बनाए दलहरुले चुनावमा भाग लिने स्पष्ट पारे । उनले भने,‘चुनावमा जान हामीलाई कुनै अप्ठ्यारो छैन । तर, शान्तिपूर्ण तवरले यो सरकारले चुनाव गराउन सक्छ त ? अहिले सरकार त्यो वातावरण बनाउन तयार छैन । आन्दोलनमा लुटिएका हतियार अहिलेपनि फिर्ता भएका छैनन् । हजारौं थान गोलीहरु फिर्ता ल्याउन सकिएको छैन । कैदीबन्दीहरु फरार छन् । प्रहरीको मनोबल कमजोर छ ।’
सार्वजनिक पदमा बसेकाहरुको सम्पत्ति छानबिन गर्न एमाले तयार रहेको पनि आचार्यको भनाई छ । २०४६ साल यता, वा ६३ यता जहिलेदेखि गरेपनि सार्वजनिक पदमा बसेकाहरुको सम्पत्ति छानविन गर्न एमाले तयार रहेको उनको भनाई छ ।
उनले दलमा नेतृत्व पुस्तान्तरण हुनुपर्ने कुराको स्वागत गरे । उनले भने,‘दलमा याँ कार्यक्रम, विचार र दृष्टिकोण आउनुपर्छ । दलहरुले नयाँ पुस्तालाई प्रवेशको बाटो बनाउनुपर्छ । पूरानालाई बहिर्गमनको एक्जिट प्वोईन्ट बनाउनुपर्छ । हामीले त यसबारेमा नीति र विधान महाधिवशेनमा पर्याप्त छलफल गरेका छौं । नेतृत्व मूलतः पहलकदमी र प्रतिष्पर्धाबाट निर्माण हुने कुरा हो । कृपा र आर्शिवादले बन्ने होईन । सुशीला कार्कीहरुले चाहेजस्तो मुखै हेर्न नचाहँदैमा कुनै दलको नेतृत्व परिवर्तन हुँदैन । नेतृत्व निर्माण र बहिर्गमनको दुवै प्रणाली छ । पार्टी जीवनलाई लोकतान्त्रिककरण गर्दै आएका छौं । सबभन्दा पहिले मंसिरमा हामी नै महाधिवेशन गर्दैछौं ।’




प्रतिक्रिया