चुनावदेखि डराएर एमालेले जेन-जीमाथि प्रहार गरिराखेको छः पुरुषोत्तम यादव (भिडिओसहित)

‘यसपटक एमाले मुक्त मधेश हुन्छ’


काठमाडौं, ४ मंसिर । जेन–जी अगुवा पुरुषोत्तम यादवले सिमरामा एमालेका कार्यकर्ताहरुले जेन–जीमाथि प्रहार गरेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमालेले जेन–जी आन्दोलन र मधेश प्रदेशमाथि प्रहार गरेको बताएका हुन् । एमालेका महासचिव शंकर पोखरेल र पोलिटव्यूरो सदस्य महेश बस्नेतलाई जेन–जीहरुले नरोकेको उनको दाबी छ । उनीहरु चुनावदेखि डराएर जेन–जीको नाममा षड्यन्त्र गरेको जेन–जी अगुवा यादवको दाबी छ ।

‘जेन–जीले रोकेको होइन, एमालेका कार्यकर्ताहरुले सम्पूर्ण जेन–जी पुस्तामाथि प्रहार गरेको हो । मधेश प्रदेशमाथि प्रहार गर्नुभएको हो । कोही जेन–जीले रोकेको होइन । एमाले कार्यकर्ताहरुको प्रहार हो । उहाँहरु चुनावदेखि डराउनु भएको छ । षड्यन्त्र गरेर त्यहाँ आन्दोलन चर्काउन खोज्नुभएको हो । चुनावदेखि एमाले डराइराखेको छ । मधेशमा आन्दोलन चर्काएर आगोमा धकेल्न खोजेको हो,’– उनले भने ।

साथै, उनले एमाले संघीयताविरोधी रहेको पनि बताए । एमाले पार्टी र त्यसका नेताहरुले कहिले पनि मधेश प्रदेशको प्रगति नचाहेको उनको भनाइ छ । मधेशलाई एमालेले हेला गरिराखेको, विद्रोह, हल्ला र झगडा होस् भन्ने चाहेको उनले बताए । एमालेको कारणले गर्दा हिजो सिमरामा कर्फ्यु लाग्ने अवस्था आएको, एमालेबाट निर्वाचित वडाअध्यक्षले जेन–जीहरुलाई कुटपिट गरेको र अहिले पनि पाँच÷छ जना जेन–जीहरु अस्पतालमा उपचाररत रहेको उनले बताए ।

यसपटकको निर्वाचन एमाले मुक्त मधेश हुने उनको दाबी छ । प्रत्यक्षतर्फ मधेशको ३२ सिटमा त्यहाँको जनताले जेन–जीलाई नै अनुमोदन गर्ने उनको भनाइ छ । ‘मधेशको ३२ सिट त्यहाँका जनताले हामीलाई जिताएर पठाउँछन् । हामी ३२ सिट प्रत्यक्षको जितेर आउँछौं,’– उनले भने ।