विशेष महाधिवेशनले पार्टी फुटाउँछ, यसलाई जसरी पनि रोक्नुपर्छ भन्ने पक्षमा सभापति देउवा हुनुहुन्छः कांग्रेस नेता जबरा (भिडिओसहित)


काठमाडौं, ४ मंसिर । नेपाली कांग्रेसका नेता उदय शमशेर जबराले पार्टी अनिर्णयको बन्दी बनेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले नेताहरुलाई तपाईँहरु मिलेर निर्णय गर्नुस् भनिराख्दा पनि त्यो हुन नसकेर केन्द्रीय समिति बैठक एक महिनाभन्दा पनि बढी समय लम्बिएको बताएका हुन् । उनले मध्यमार्गी बाटोमा गएर अहिलेको बहसलाई टुङ्ग्याएर चुनावको लागि फिल्डमा उत्रिनुपर्ने अवस्था रहेको उनले बताए ।

कांग्रेसभित्र अहिले महाधिवेशनको सन्दर्भमा चुनाव पछाडि वैशाखमा गरौं भन्ने एउटा धारणा रहेको र अर्को विशेष महाधिवेशनको माग पनि भइरहेको उनले बताए । नेता जबराका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनमा जान हुँदैन भनेर भनिसकेका छन् । अधिकांश नेताहरुको भनाइ विशेष महाधिवेशन नभए पनि कुनै एउटा मध्यमार्गी बाटोमा जाने हो कि भन्ने कुरा आइरहेको नेता जबराले बताए ।

उनले अब कांग्रेससँग अल्मलिएर बस्ने समय नरहेको बताउँदै महाधिवेशनको प्रक्रिया अगाडि बढाउनुपर्ने बताए । आफूहरु महाधिवेशन गर्नुपर्छ भन्ने पक्षमा रहेको बताए । अहिले पार्टी सभापति देउवाले कार्यवाहक छोडेर चुनाव र महाधिवेशन गर्न तयार होऊ भनेर गइसकेको उनले बताए ।

देउवा यो पार्टी फुट्न हुन्न, विशेष महाधिवेशनले पार्टी फुटाउँछ, जसरी पनि यसलाई रोक्नुपर्छ भन्ने पक्षमा रहेको नेता जबराले बताए । देउवाले अप्रत्यक्ष रुपमा मंसिरभित्रै महाधिवेशन गर भन्ने कुरा गरेको पनि नेता जबराको दाबी छ । आफूहरु २५ जना केन्द्रीय समिति सदस्यहरुले सभापति देउवाकै भावना र वक्तव्यअनुसार विकल्प खोज्न आग्रह गरेको उनले बताए । नेता जबराले अहिलेको परिस्थितिमा नेपाली कांग्रेसमा गुटभन्दा पनि माथि उठेर जनताको हितमा काम गर्नुपर्ने अवस्था रहेको बताए ।

अहिले जटिल परिस्थिति आएको बताउँदै उनले अब राजनीतिक दलहरुले नेता, पार्टी र गुटभन्दा माथि उठेर देशको निकास सोच्नुपर्ने अवस्था रहेको बताए ।