संसद् विघटन हुँदा सबैभन्दा ठूलो मार कसैलाई भएको छ भने जेन-जीहरुलाई भएको छः एमाले नेता बर्तौला (भिडियोसहित)


काठमाडौं, ५ मंसिर । नेकपा (एमाले) का नेता महेश बर्तौलाले प्रतिनिधिसभा विघटनहुँदा सबैभन्दा ठूलो मार जेन–जी पुस्ताहरुलाई भएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता बर्तौलाले जेन–जीहरुले उठाएको सुशासनको मुद्दा, भ्रष्टाचार अन्त्यको मुद्दालाई संस्थागत गर्नका लागि संसद् विघटनले बाधा पुर्याएको उनको दाबी छ । उनले अहिलेको प्रधानमन्त्रीलाई अहिलेको कानून र संसद्ले नै नचिन्ने बताए ।

नेता बर्तौलाले अहिलेको सरकार गठन असंवैधानिक, अलोकतान्त्रिक र जनादेशविपरीत रहेको उनले बताए । यसबमोजिम बनेको सरकारले गरेको संसद् विघटन घोर असंवैधानिक र अलोकतान्त्रिक हुने उनको दाबी छ । असामान्य परिस्थिति विद्यामान रहेको अवस्थाको बाबजुद पनि संवैधानिक द्वारबाट संसद्बाटै सरकार जन्माएर जान सकिने पर्याप्त आधारहरु हुँदाहुँदै गलत ठाउँबाट गइएको उनले बताए । यसले सिंगो मुलुकलाई अलोकतान्त्रिक र असंवैधानिक मार्गतर्फ अगाडि बढ्न वातावरण बनाएको नेता बर्तौलाले बताए । अहिले भइरहेको गलतलाई सच्याउने एउटैमात्र विधि संसद् पुनर्स्थापना हो भनेर एमालेले निर्णय गरिसकेको उनले बताए । यद्यपि एमाले निर्वाचनबाट नडराउने उनको भनाइ छ ।

‘एमाले लोकतन्त्रको लागि लामो समयदेखि लड्दै आएको राजनीतिक शक्ति हो । जनवादको कार्यनीतिलाई स्वीकार गरेर जनताको बीचमा गइ प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल गर्ने भूमिकामार्फत हामीले सामाजिक, आर्थिक, सांस्कृतिक जिम्मेवारी पूरा गर्ने संकल्पका साथ अगाडि बढेको राजनीतिक पार्टी हो । निर्वाचनलाई जीवन्त बनाउने, निर्वाचनमा सहभागी हुने कुरा एमालेले गर्दै आएको छ । एमालेको प्रतिवद्धतामा कसैले शंका गरिरहन पर्दैन,’– उनले भने ।

फागुन २१ गतेको निर्वाचन सम्पन्न गराउने कार्यदेशसहित राष्ट्रपतिले यो सरकार गठन गरेको पनि उनले बताए । यस आधारबाट हेर्दा अहिलेको सरकारको व्यवहार, क्रियाकलाप फागुन २१ गतेको निर्वाचन सम्पन्न गराउने नरहेको उनले बताए । सरकारका अहिलेको क्रियाकलापहरु निर्वाचनलक्षित भन्दा पनि भूमि आयोग खारेज गर्ने, राजदूतहरु फिर्ता बोलाउने, विभिन्न चाहिने नचाहिने काण्डहरुमा सरकारको सहभागिता, महान्यायाधिवक्तामाफर्त डिम्बको अवैध कारोबार गर्नेलाई उन्मुक्ति, चाहिने नचाहिने कानून संशोधन जस्तो काम भइरहेको उनले बताए । सरकारको मेनुमा निर्वाचन नरहेको उनको दाबी छ । संसद् पुनर्स्थापना गरेर सर्वपक्षीय राष्ट्रिय अन्तरिम सरकार संसद्भित्रबाटै बनाइनुपर्ने र त्यसमा एमालेको दावा नरहने उनले बताए ।

‘यो संसद् पुनर्स्थापना हामीले ०८४ मा निर्वाचन गराउनेगरी होइन । राष्ट्रिय सहमति गरेर, अहिलेको १५ दिनभित्रमा संसद्को पुनर्स्थापना गरौं । संसद्को पुनर्स्थापना, पुनर्स्थापित संसद्बाट सर्वपक्षीय राष्ट्रिय सरकार निर्माण गरौं । त्यो पुनर्स्थापित संसद्बाट बन्ने सर्वपक्षीय राष्ट्रिय अन्तरिम सरकार संसद्भित्रबाट जोसुकै बनोस्, त्यसमा केही छैन । एमालेको दावा रहँदैन । सरकारमा रहने कुनै इच्छा आकांक्षा एमालेको रहँदैन । त्यो सरकारमा जेन–जी युवाहरुको पनि सहभागिता गराऔं,’– उनले भने ।

उनले फागुन २१ गते नै निर्वाचन गर्नेगरी आफूहरु अगाडि बढ्न तयार रहेको पनि उनले बताए । तर, त्यसका लागि संसद्ले बनाएको वैध सरकारले नेतृत्व गर्नुपर्ने उनको भनाइ छ । अहिलेको असामान्य परिस्थितिमा संसद्भित्रकै मान्छेले सरकारको नेतृत्व गर्न सम्भव छैन भन्ने हो भने विगतमा सर्वोच्च अदालतका बहालवाला न्यायाधीशलाई नै जिम्मेवारी दिएर, अन्तरिम संविधान संशोधन गरेर काम गरेको जस्तै संसद्बाट संवैधानिक गाँठो फुकाएर जान सकिने आधार पनि बन्ने बताए ।

नेता बर्ताैलाले अब यो मुलुकको राजनीतिक निकास, संवैधानिक निकास र लोकतान्त्रिक निकासका भनेको संसद्को पुनर्स्थापना रहेको र त्यही पुनर्स्थापित संसद्बाट ताजा जनादेशमा जानुपर्ने बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बन्न सिफारिस गरेको कुरामा कुनै सत्यता नरहेको बताए । संसद्को सदस्य भएकै र संविधानको धाराले चिन्ने व्यक्तिलाई प्रधानमन्त्री बनाउन ओलीले सम्मति जनाएको उनको दाबी छ ।