नेपाली नागरिक समाजको देशको पछिल्लो घटनाक्रम र अबको निकास विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न


काठमाडौं, ५ मंसिर । नेपाली नागरिक समाजले देशको पछिल्लो घटनाक्रम र अबको निकास विषयमा अन्तरक्रिया गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा कार्यक्रमको आयोजना गरी विभिन्न पक्षसँग अन्तरक्रिया गरिएको हो । नेपालमा अब शान्ति, समृद्धि हुनुपर्ने, युवाहरु नेपालमै बसेर काम गर्न पाउने वातावरण सरकारले बनाउनुपर्छ भन्ने नेपाली नागरिक समाजको बुझाइ रहेको छ ।

नेपाली नागरिक समाजका कृष्णबहादुर खड्काले आज मुलुक नेतृत्वको अकर्मण्यताले गर्दा समस्याको भुमरीमा फसिरहेको बताए । आर्थिक अपचलन र भ्रष्टाचारको संक्रमणले मुलुक आर्थिक जरजर अवस्थामा बाँचिरहेको उनले बताए । युवा शक्तिको अभावले उर्वर जमिनहरु बाँझो भएको, सुन्दर मुलुक आन्दोलनको प्रयोगशाला बन्ने गरेको बताए ।

विभिन्न समस्यालाई सही तरिकाले सुल्झाउनका लागि आफूहरु यो अभियानमा जोडिएको उनले बताए । खड्काले यो जेन–जीलगायत सबै पुस्ताको अभियान रहेको बताए । आफूहरु निस्वार्थ सेवा गर्ने र सबै जनताको साथ र सहयोग आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ नारायण कार्की, साहित्यकार तथा पूर्व राष्ट्रसेवक कर्मचारी शैलेन्द्र साकार, पत्रकार राम गैरेलगायतको उपस्थिति रहेको थियो ।