काठमाडौं, ६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले आम नेपाली जनताको भावना र आकांक्षाको प्रतिनिधित्व गरेको सर्वपक्षीय अन्तरिम सरकारको आवश्यकता रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा सर्वपक्षीय अन्तरिम सरकार बनाउनु आजको आवश्यकता रहेको बताए ।
‘नेपाल कम्युनिष्ट पार्टी (माअोवादी) नै अहिलेको फ्रेस पार्टी भएको हुनाले हाम्रो महासचिव विप्लवको नेतृत्वमा सर्वपक्षीय अन्तरिम सरकार बनाऔं भन्ने हाम्रो कुरा छ । जेन–जीको टिमसँग हाम्रो कुरा भइरहेको छ । विप्लव अहिले जनताले अपेक्षा गरेको लिडर, जनतामा पपुलर लिडर पनि । यो हुँदा राजनीतिक दलहरुको प्रतिनिधित्व गर्ने,’– उनले भने ।
विप्लवको नेतृत्वमा अन्तरिम सरकार बनाउँदा वर्तमान प्रधानमन्त्री सुशीला कार्कीले पनि साथ दिनुपर्ने उनले बताए । त्यसो भयो भने देशका भ्रष्टाचारीहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढ्ने, विदेशीहरुको हस्तक्षेप मुक्त चुनाव, राज्यको पुनर्संरचनाको लागि आवश्यक पर्ने विधि निर्माण गर्न सकिने उनले बताए । त्यो क्षमता अहिले विप्लवसँग मात्रै रहेको नेता विश्वकर्माको भनाइ छ ।
उनले विप्लवको नेतृत्वमा बन्ने जनताको सरकारमा सञ्चारमन्त्री बन्न पत्रकार धमलालाई आग्रह गरे । कार्की नेतृत्वको अहिलेको सरकारमा मन्त्री अस्वीकार गरेर धमलाले निकै ठूलो बुद्धिमानीपूर्ण काम गरेको पनि नेता विश्वकर्माले बताए । आन्दोलन जेन–जीले गर्ने, सरकार अन्तैबाट बन्ने भएको दाबी गर्दै उनले त्यो सरकारमा मन्त्री नबनेर एकदम ठीक गरेको बताए ।
नेता विश्वकर्माले आफूहरुले राजनीतिक भेटघाट पनि बढाएको बताए । केही समय पहिला नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा अोलीसँग भेटभएको, त्यसपछि प्रधानमन्त्री कार्कीसँग भेट भएको र आज राष्ट्रपतिसँग भेटवार्ता तय भएको उनले बताए । अबको केही दिनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट हुने उनले बताए ।




प्रतिक्रिया