राष्ट्रपति पौडेललाई ओलीको सुझावः जेन-जीको मागअनुसार सुशीला कार्कीको सरकारलाई तुरुन्त हटाउनुस्


काठमाडौं, ६ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन–जीको मागअनुसार प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई तुरुन्त हटाउन राष्ट्रपति रामचन्द्र पौडेललाई सुझाव दिएका छन् । आज (शनिबार) काठमाडौंमा एमालेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जेन–जीहरु आफैंले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई हाम्रो सरकार होइन, हटाउनुस् भनेर राष्ट्रपति पौडेलसमक्ष जेन–जीहरु डेलिगेशन गएको बताए ।

‘यो सरकार जेन–जी सरकार भन्छन्, जेन–जीहरुले आफैंले भनेका छन्, राष्ट्रपतिजी कहाँ डेलिगेशन गएर भनेका छन्– यो सरकार हाम्रो सरकार होइन, यसलाई हटाउनुपर्यो भनेर जेन–जीहरुले माग गरेका छन्,’– उनले भने ।

राष्ट्रपति पौडेलले जेन–जीहरुको माग भनेर कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेको प्रसंग उल्लेख गर्दै उनले अहिले पनि जेन–जीको मागअनुसार नै यो सरकारलाई विदा गर्नुपर्ने बताए । संविधानले दिँदैन भन्ने राष्ट्रपतिको अडान हो भने संविधानले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति गर्न पनि नदिएको उनले बताए । प्रधानमन्त्री कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको दाबी गर्दै उनले हटाउन के ले रोक्यो ? भन्दै राष्ट्रपति पौडेलसमक्ष प्रश्न गरे ।

‘राष्ट्रपतिज्यू अस्ती–अस्ती जेन–जीको माग भनेर यो सरकार जडान गर्नुभयो त जेन–जीको मागअनुसार यो सरकार किन विदा गर्नुहुन्न, किन हटाउनुहुन्न ? हटाउनुस् । संविधानले दिँदैन भन्नुहुन्छ भने अस्ती संविधानले कहाँ दिएको थियो ? अस्ती पनि संविधानले नदिएकै त गरेको हो । अब यो संविधानअनुसार नबनेको असंवैधानिक चिजलाई तपाईँले हटाउनलाई के ले रोक्यो ?’ प्रश्न गर्दै ओलीले भने ।

वर्तमान सरकारले फागुन २१ गते निर्वाचन गराउनेतर्फ सोच्दै नसोचेको ओलीको दाबी छ । उनले निर्वाचन हुन्छ भनेर भ्रम नपाल्न आग्रह गरे । जेन–जीका नाममा आउने केही तत्वहरुलाई नरोकेर नेताहरुलाई कार्यक्रममा जानबाट रोकेको, जेन–जीको नाममा अराजकता मच्चाएको उनको आरोप छ । वर्तमान सरकारलाई प्रहरी, अदालत, सेना, सशस्त्र प्रहरी, कर्मचारी सबै एमाले लाग्न थालेको बताए । उनले वर्तमान सरकारलाई रेविज लागेको जनावारसँग तुलना गरे । ‘रेविज भएको जनावारले जता पनि पानी देख्न थाल्छ । यो त एमालेमय देश हो । एमालेले नेपाली सेना, प्रहरीका लागि काम गरेको छ,’– उनले भने । File Photo/RN