काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनबारे कुनै निर्णय नै नगरी सकिएको छ । करिब एक महिनाभन्दा लामो समयदेखि जारी रहेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आज पार्टीको १५औं महाधिवेशनबारे निर्णय हुने धेरैको आँकलन रहेको थियो । तर, आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे कुनै निर्णय हुन सकेन ।
कांग्रेस केन्द्रीय समितिले फागुन २१ गते हुन गइरहेको प्रतिनिसभाको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । केही दिनमा छलफल गरेर महाधिवेशनबारे निर्णयमा पुगिने बताइएको छ । कांग्रेस संस्थापन पक्षहरु आसन्न प्रतिनिधिसभाको चुनावपछि निर्वाचन हुनुपर्ने पक्षमा छन् । तर, इत्तर समूह भने तत्काल नियमित महाधिवेशन हुनुपर्ने र त्यो सम्भव नरहेको खण्डमा विशेष महाधिवेशन गरेर नयाँ नीति र नयाँ नेतृत्वसहित आगामी फागुन २१ गतेको निर्वाचनमा जनतामाझ जानुपर्ने पक्षमा छ ।




प्रतिक्रिया