काठमाडौं, ७ मंसिर । जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं संघीय लोकतान्त्रिक मोर्चाका नेता हृदयेश त्रिपाठीले आफूहरु निर्वाचनमा जान तयार रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले २०७९ को मतादेशलाई खण्डित गरिसकेकाले अब निर्वाचनको विकल्प नरहेको बताएका हुन् ।
साथै, उनले अब प्रतिनिसभा पुनर्स्थापनाको पक्षमा उभिने नेकपा (एमाले) का नैतिक अधिकार नै नरहेको बताए । एमालेले दुई तिहाइको सरकार र संसद् बचाउन नसकेको उनको आरोप छ । सत्ता र संसद् एमालेले जोगाउन नसकेको कारण देश नै ध्वस्त हुने वातावरण बनेको नेता त्रिपाठीले बताए । एमालेले अब संसद् व्यूँताउँछु भन्नु निरर्थक रहेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्हाल्न नसकेर प्रधानमन्त्रीबाट राजीनामा दिएको उनले टिप्पणी गरे । अब एमालेको हुँकार आवश्यक नरहेको र ताजा जनादेशमा जानुको विकल्प नरहेको बताए ।
आफ्नै नेतृत्वको कारणले देश अप्ठ्यारोमा फस्यो भन्ने एमालेमा लघुताभास र हिनताबोध रहेको उनले बताए । तर, एमालेले चुनावभन्दा अर्को विकप्प छैन भन्ने कुरा भित्रभित्रै बुझेको दाबी गरे । अहिले एमालेका नेतृत्व र कार्यकर्ताको मनोबल गिरेको, तर चुनावबाट एमाले भाग्न नसक्ने उनले बताए ।
नेता त्रिपाठीले मधेशमा आठ दलीय संघीय लोकतान्त्रिक मोर्चाको गठबन्धन हुने बताए । नेता त्रिपाठीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पनि चुनावी गठबन्धन हुन सक्ने स्थिति बन्दै गएको बताए । ‘रास्वपासँग पनि गठबन्धन हुन सक्ने सम्भावना छ । तराइ मधेशमै हुन सक्ने स्थिति छ । देशको अन्य भागमा पनि हुनसक्ने स्थिति छ । उज्यालो पार्टीलगायतका एक÷दुईवटा अरु पार्टीसँग पनि हुनसक्छ,’– उनले भने ।
तर, एमाले, नेपाली कम्युनिष्ट पार्टी र नेपाली कांग्रेससँग चुनाव गठबन्धन हुने सम्भावना आफूले नदेखेको पनि उनले बताए । अरु दलहरुसँग छलफल हुन बाँकी रहेको र ढोका खुल्ला रहेको उनले बताए । अहिले कांग्रेसभित्र नेतृत्वकै समस्या रहेको उनले बताए । कांग्रेसकै कारणले गर्दा देश गम्भीर संकटमा फसेको उनको भनाइ छ ।




प्रतिक्रिया