फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन सर्ने विश्वप्रकाशको दाबी, दिए दुई आधार


काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन सर्न सक्ने आशंका व्यक्त गरेका छन् । इलामस्थित पार्टी कार्यालय अवलोकनपछि उनले निर्वाचनका लागि शान्तिपूर्ण वातावरण बनिनसकेको र चुनाव तोकिएको समयमा हिमाली क्षेत्रको मौसम प्रतिकूल हुने अवस्था रहेको बताए ।

ु‘समानुपातिकको सूची बुझाउने मिति या फागुन २१ कै चुनाव पनि केही पछि सर्न सक्छ। शान्तिपूर्ण वातावरण बन्नुपर्ने आवश्यकता र हिमाली क्षेत्रको मौसमी प्रतिकुलता दृस्टिगत गरेर थोरै पछि सर्नसक्ने सम्भावनालाई राजनैतिक सहमतिमार्फत हल खोज्नु उत्तम हुन्छ,’– महामन्त्री शर्माले भने ।

महामन्त्री शर्माले पार्टीको विशेष महाधिवेशनको सम्भावना रहेको बताए । त्यसका लागि सबै एक भएर लाग्नुपर्ने उनको भनाइ छ ।

उनले महाधिवेशनको पहिला विकल्पको रुपमा पुस अन्तिम साताका लागि नियमित महाधिवेशन गर्नेगरी अबको बैठकबाट कार्यतालिका निर्माण गर्ने, महाधिवेशन तयारी क्रममा केहिदिन समय नपुग्नसक्ने अवस्था देखिए थप १५ दिन समय लिएर महाधिवेशन सम्पन्न गर्ने बताए । दोस्रो विकल्पको रुपमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी पार्टी अघि बढ्न नसक्ने उनले बताए । ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सम्बोधन नगरी पार्टी अघि जान सक्दैन,’– उनले भने ।