आम कार्यकर्ताको चाहना केपी ओलीबाट नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने छः योगेश भट्टराई


काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आम कार्यकर्ताहरुको चाहना पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट नेतृत्व हस्तान्तरण होस् भन्ने रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आम कार्यकर्ताको चाहनाविपरीत ओली जान नहुने बताएका हुन् । अध्यक्ष अ‍ोलीले जनताको जनमतलाई अस्वीकार गर्न नसक्ने उनको भनाइ छ । ओलीले नेतृत्वको निम्ति सहज वातावरण बनाउनु एमाले र मुलुकको लागि हितकर हुने आफूहरुको मान्यता रहेको नेता भट्टराईले बताएका छन् ।

‘विधान महाधिवेशनले केपी ओलीलाई ढोका खोलिदियो त ? भन्ने प्रश्नमा उनले भने ‘त्यो गल्ती भयो । त्यो उहाँकै मान्यता विपरीत हो । त्यसकारण मैले भन्दै छु कि– अध्यक्ष कमरेड आफ्नो मान्यतामा फर्किनुस् । तयार हुनुपर्छ, हुनुहुन्छ मेरो विचारमा । किनकी आम कार्यकर्ताको चाहनाविपरीत केपी ओली जानुहुन्न । आजको दिनमा आम जनता र कार्यकर्ताको चाहना के छ भने केपी कमरेडबाट नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने चाहना छ । त्यसकारण उहाँले जनताको जनमतलाई स्वीकार गर्ने नेताले त्यो कुरालाई अस्वीकार गर्नुहोला भन्ने मलाई लाग्दैन,’– उनले भने ।

साथै, अध्यक्ष ओलीले सातौ राष्ट्रिय महाधिवेशन२०५८ सालमा प्रस्तुत गरेको दस्ताबेजलाई पूर्ण रुपमा स्वीकार गर्नुपर्ने उनले बताए । पार्टीको लोकतान्त्रिकरणसम्बन्धी उक्त दस्तावेजमा पार्टीको महत्वपूर्ण पदहरुमा दुई कार्यकालभन्दा बढी निर्वाचित हुन नपाउने व्यवस्था रहेको थियो । एमालेको विधान महाधिवेशनले सो व्यवस्था हटाएकोप्रति उनले असन्तुष्टि व्यक्त गरे ।

‘पार्टीको मुख्य कार्यकारी पदमा दुई कार्यकाल गर्नुपर्छ भनेर उहाँले सातौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको विषय हो । त्यसलाई आठौं, नवौं महाधिवेशनले स्वीकार गरेर अगाडि बढ्यो । अस्ती फेरि विधानमा उहाँले त्यसलाई हटाउनुभयो र अनन्त कालसम्म पनि नेतृत्व गर्ने प्रवधान उहाँले खुला राख्नुभएको छ । हामीले अध्यक्ष कमरेडलाई यो भन्दै छौं कि– तपाईँ आफैंले प्रस्तुत गर्नुभएको लोकतान्त्रिकरणको अभ्यासमा फर्किनुस्,’– उनले भने ।

आजको दिनमा ओलीका लागि सबैभन्दा उपयुक्त विकल्प दुई कार्यकालको प्रवधानलाई पार्टी विधानमा लागू गर्ने, पार्टीको अभिभावकको रुपमा भूमिका खेल्ने, समन्वयकारी भूमिका खेल्ने र नयाँ मानिसहरुलाई पार्टी नेतृत्वको निम्ति प्रतिस्पर्धाको सहज वातावरण बनाउनतर्फ लाग्ने उपयुक्त हुने नेता भट्टराईको ठहर छ ।

साथै, गत भदौ २३ र ३४ गते पछाडिको राजनीतिक कोर्शअनुसार यो मुलुकले मुख्य राजनीतिक दलमा नेतृत्व हस्तान्तरण खोजिराखेको उनको भनाइ छ । त्यसको कार्यान्वयनको प्रस्थान विन्दु एमालेको मंसिर २७, २८ र २९ गते हुने महाधिवेशनबाट हुने उनले बताए ।