सुशीला कार्कीलाई जेन-जीले प्रधानमन्त्री बनाएकाे होइन, नक्कली जेन-जी नामधारी सुदन गुरुङले बनाएका हुन्ः ज्ञानबहादुर शाही


काठमाडौं, ९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार जेन–जीहरुले नबनाएको टिप्पणी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री कार्की नेतृत्वको सरकार जेन–जीको नामधारी नक्कली जेन–जीहरुले बनाएको बताएका हुन् । उनले वर्तमान सरकार हामी नेपाल नामक संस्थाका संस्थापक सुदन गुरुङले बनाएको टिप्पणी गरे । गुरुङ जेन–जी समूहको व्यक्ति पनि नरहेको र उनी आन्दोलनको नेतृत्वकर्ता पनि नरहेको नेता शाहीको टिप्पणी छ ।

‘जो आज सडकमा गए, ती जेन–जीहरुले उहाँलाई प्रधानमन्त्री बनाएको होइन । उहाँलाई जेन–जीको नामधारी नक्कली जेन–जीले प्रधानमन्त्री बनाएको हो । उहाँलाई सुदन गुरुङले बनाउनुभयो । सुदन गुरुङ आफैंमा जेन–जी होइनन् । उनी आन्दोलनको नेतृत्वकर्ता पनि होइनन् । सुदन गुरुङले भनेको अन्तरवार्तालाई नै आधार मान्ने हो भने उहाँ त पानी बाँड्न गएको हो नि त आन्दोलनमा । उमेर समूहको हिसाबमा जाने हो भने सुदन गुरुङ हामीभन्दा पनि ६÷७ वर्ष जेठो हुनुहुन्छ । आन्दोलन गर्ने, मर्ने, हिजो घाइते हुने जेन–जी अलग्गै हुन्, आन्दोलन गरेर जित्ने अरु नै हुन् । आन्दोलनलाई कब्जा गरेर सत्ता कब्जा गर्ने अर्कै हुन्,’– उनले भने ।

वर्तमान सरकार कुशासनको दलदलमा फसकेको उनले बताए । प्रधानमन्त्री कार्कीले नियुक्ति गरेको महान्यायाधिवक्ताले डिम्ब कारोबार गर्नेहरुलाई उन्मुक्ति दिएको, प्रधानमन्त्रीको स्वकीय सचिवले जेन–जीको नाममा आफ्नै श्रीमतीलाई नियुक्ति गरेको, विभिन्न काण्डहरुको छानविन नगरेको उनले बताए । उनले प्रधानमन्त्री कार्कीले काम गर्न नसकेको भन्दै राजीनामा माग गरे । उनले गोलमेच सम्मेलन गरेर अर्को प्रधानमन्त्री बनाउने बताए ।

‘तपाई भ्रष्टाचारीलाई पनि कारबाही गर्न नसक्ने । तपाईँ हत्यारालाई पनि कारबाही गर्न नसक्ने । संविधान संशोधन गरेर नयाँ जनादेशमा पनि जान नसक्ने । २०८४ को चुनाव ०८२ मा ल्याएर सांसदको चुनावका लागि किन प्रधानमन्त्रीको कुर्सीमा बस्ने ? तपाईँले अब काम गर्न सक्नुहुन्न भने राजीनामा दिनुस् । गोलमेच सम्मेलन गरेर अर्को प्रधानमन्त्री बन्छ,’– उनले भने ।