जेन-जी युवाहरुले असली अभिभावक नेपाली कम्युनिष्ट पार्टी नै हो भन्ने कुरा बुझ्दै गएका छन्ः प्रचण्ड


काठमाडौं, ९ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीलाई जेन–जी युवाहरुले असली अभिभावक ठान्दै गएको बताएका छन् । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरुले युवाहरुको मुद्दा बढी सम्बोधन गर्ने कोशिस गरेको कारण जेन–जीहरुले विश्वास गरेको बताएका हुन् ।

केही दिनअघि मात्रै हजारौं जेन–जीहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको बताउँदै उनले अब सो लहर जारी रहने दाबी गरे । ‘अब जेन–जी पुस्ताका युवाहरुले पनि आफ्नो असली अभिभावक नेपाली कम्युनिष्ट पार्टी नै हो भन्ने कुरा बुझ्दै गएका छन् र हजारौंको संख्यामा नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने प्रक्रिया अगाडि बढेको छ,’– उनले भने ।

साथै, युवाहरुले सुशासनको पक्षमा, भ्रष्टाचारको विरुद्ध उठाएका आवाजलाई पनि सबैभन्दा पहिला आफूहरुले समर्थन गरेको उनले बताए । युवाका सही आवाजहरुलाई बलपूर्वक दमन गर्ने कोशिस नगरियोस् भनेर जेन–जी आन्दोलनको क्रममा सरकारलाई खबरदारी गरेको पनि उनले स्मरण गराए ।