विकट बस्तीमा सेनाको घुम्ती स्वास्थ्य सेवा


-सचिन पोख्रेल
इटहरी, मङ्सिर २४ गते । कोशी प्रदेशका विभिन्न जिल्लास्थित विकट तथा दुर्गम बस्तीका र विपन्न सर्वसाधारणलाई घरआँगनमा नै गएर प्रभावकारी स्वास्थ्य सेवा र औषधी उपचार गर्ने अभियानलाई इटहरीस्थित सैनिक अस्पतालले प्राथमिकता दिएको छ ।

विगतमा सैनिक अस्पतालले मुख्यतः नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिक तथा उनीहरूको परिवारका सदस्यमामात्र सीमित रहेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको भए पनि पछिल्लो समय नागरिक–सैनिक सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित साधारण जनताका लागि प्रभावकारी स्वास्थ्य सेवा अभियान नै सुरु गरेको हो ।

इटहरीस्थित सैनिक अस्पतालको कार्यक्षेत्र कोशी प्रदेशका १४ जिल्ला रहेकाले प्रदेशभर एउटै संरचनाबाट सेवा प्रभावकारी रूपमा विस्तार भइरहेको अस्पतालले जनाएको छ ।

सैनिक नागरिक सम्बन्ध सुदृढ बनाउने र प्रदेशका आर्थिक तथा भौगोलिक रूपमा पछाडि परेका गरीब तथा विपन्न समुदायलाई स्वास्थ्यसेवा पहुँचमा ल्याउने लक्ष्यसहित यो अभियान सञ्चालन गरिएको अस्पतालका कमाण्डेन्ट प्राविधिक महासेनानी डा। कुमार रोकाले जानकारी दिए । उनका अनुसार नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टरको निर्देशन तथा विभिन्न जिल्लास्थित स्थानीय सेनाका युनिटहरूको सहकार्यमा स्वास्थ्य शिविरहरू निरन्तर रुपमा सञ्चालन भइरहेका छन् ।

विभिन्न स्वास्थ्य समस्याबाट प्रभावित सर्वसाधारणको अधिक बसोबास भएको क्षेत्रहरुमा सेनाको जिल्लास्तरीय युनिटसमेतलाइ परिचालन गरी स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको र त्यस क्रममा विभिन्न विशेषज्ञ सेवाहरु प्रदान गर्नुका साथै आवश्यक औषधीहरु समेत निःशुल्क प्रदान गरिने बताइएको छ ।

यस क्रममा शिवदल गणको समन्वयमा मोरङ जिल्लामा प्रभावकारी स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका जहदा, कटहरी र धनपालथान गाउँपालिकाका स्थानीय सर्वसाधारणलाई लक्षित गर्दै वृहत स्वास्थ्य शिविर सञ्चालन गरियो । जहदा गाउँपालिका–४, लोहोन्द्रा खोलानजिकै आयोजित शिविरमा सैनिक अस्पताल, नम्बर–२ फिल्ड एम्बुलेन्स गुल्म हिले, विभिन्न स्थानीय स्वास्थ्य संस्था तथा कार्यालयहरूको सहकार्य थियो ।

शिविरमा सामान्य स्वास्थ्य, आँखा, दन्त रोग, स्त्रीरोग, नाक–कान–घाँटी, र बालरोगसम्बन्धी विशेषज्ञ सेवासहित आवश्यक औषधी पनि निःशुल्क वितरण गरिएको थियो । सो अवसरमा कमाण्डेन्ट डा। कुमार रोका, डा। यमुना थापा तथा अन्य विशेषज्ञहरूको टोलीले विभिन्न स्वास्थ्य समस्यामा परामर्श र उपचार प्रदान गरेका थिए ।

उक्त शिविरबाट २०७ जना पुरुष, २६८ जना महिला र ७७ जना बालबालिका गरी कुल ५५२ जना लाभान्वित भएको सैनिक अस्पतालले जनाएको छ ।

त्यसैगरी, उदयपुर जिल्लाको दुर्गम क्षेत्रमा अवस्थित लिम्चुङबुङ गाउँपालिका वडा नं।३ बराहक्षेत्रमा पनि सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

गाईघाटस्थित पशुपति प्रसाद गण र लिम्चुङबुङ गाउँपालिकाको संयुक्त आयोजना तथा समन्वयमा सम्पन्न शिविरमा सैनिक अस्पताल इटहरी, श्री नं। १८ फिल्ड एम्बुलेन्स गुल्म भुल्के, जिल्ला अस्पताल उदयपुर र आधारभूत स्वास्थ्य केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधीसमेत उपलब्ध गराएको थियो । उक्त स्वास्थ्य शिविरबाट २५२ जना सर्वसाधारण लाभान्वित भएको पशुपति प्रसाद गणका गणपति प्रमुख सेनानी मनोजकुमार कार्कीले बताए ।

सो शिविरमा जनरल फिजिसियन, दन्तरोग, नाक, कान र घाँटी, आँखा र प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवाहरू उपलब्ध गराइएको डा। रोकाको भनाइ छ ।

त्यसैगरी, भोजपुरस्थित नयाँ श्रीनाथ गणको समन्वयमा सैनिक अस्पताल इटहरी र सेनाको नम्बर २ फिल्ड एम्बुलेन्स गुल्म हिलेका स्वास्थ्य प्राविधिकहरुले भोजपुरको टेम्केमैयुम ७ मा पनि वृहत स्वास्थ्य शिविर सञ्चालन गरेको छ । भोजपुरस्थित जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, जिल्ला आयुर्वेद अस्पताल र टेम्केमयुम गाउँपालिकासमेतको सहकार्यका सञ्चालित शिविरमा विभिन्न किसिमका स्वास्थ्य समस्याबाट पीडित ४४३ जना लाभान्वित भएको अस्पतालले जनाएको छ ।

सैनिक अस्पतालले यस्ता शिविरमार्फत उपचार तथा औषधी वितरण मात्र नभई स्थानीयलाई स्वास्थ्यसम्बन्धी परामर्श, दीर्घरोग व्यवस्थापन, स्वच्छता अभिवृद्धि तथा निवारक उपायसम्बन्धी सचेतनासमेत प्रदान गरिरहेको जनाएको छ ।

नेपाली सेनाको यो घुम्ती स्वास्थ्य सेवा अभियानले कोशी प्रदेशका दुर्गम बस्तीका हजारौँ सर्वसाधारणलाई नियमित स्वास्थ्य सेवा तथा विभिन्न विशेषज्ञ उपचार स्थानीय स्तरमै प्राप्त गर्ने विश्वास सर्वसाधारणले राखेका छन् । रासस