केपी ओलीको हात हाम्रो पुस्ताको रगतले रंगिएको छ : रक्षा बम


काठमाडौं, २८ मंसिर । जेनजी आन्दोलनकी अगुवा रक्षा बमले एमाले महाधिवेशन प्रतिनिधिहरुलाई अपिल गरेकी छिन् । उनले केपी शर्मा ओलीको हात त आफ्नो पुस्ताको रगतले रंगिएको उल्लेख गरेकी छिन् । उनले भदौ २३ गते ननिम्त्याउने नेतृत्व छनोट गर्न एमाले महाधिवेशन प्रतिनिधिहरुलाई सुझाएकी छिन् ।

उनले लेखेको खुला पत्र यस्तो छ-

आदरणीय एमाले महाधिवेशन प्रतिनिधी ज्यूहरु,
बिशेष परिस्थितिमा नियमित समयभन्दा १ बर्ष अगाडी नै हुदैगरेको नेकपा एमालेको महाधिवेशनमा हामी तपाईहरूको मत पर्खेर बसेका छौं।
निकै रस्साकस्सीबिच तपाईहरु महाधिवेशन प्रतिनिधी चुनिएर आउनुभएको कुरा बिभिन्न सन्चारमाध्यमहरुबाट हामीले थाहापाएका छौं।अब तपाईहरुको हातमा एउटा अभिभारा आईपरेको छ । तपाईहरुले आफ्नो नेता, आफ्नो पार्टीको अध्यक्ष मात्र नभई, देशकै ठूलो मध्यको एउटा दलको अध्यक्ष र अन्य पदाधिकारीहरु पनि छान्दै हुनुहुन्छ । तपाईहरुको भोटले तपाईहरुको पार्टीको कार्यदिशा र मार्गनिर्देशन तय गर्नेछ।
र यतिखेर हामी तपाईहरु सबैलाई पुनश्चः सेप्टेम्बर ८ अर्थात भदौ २३ सम्झाउन चाहन्छौ । भदौ २३ एउटा सामान्य मितिमात्र थिएन। त्यस दिन तानाशाही व्यवस्थाबिरुद्ध, आफ्नो संवैधानिक हकका खातिर संवैधानिक अधिकारको प्रयोग गर्दै, एउटा उमेर समूह अर्थात जेन जी पुस्ता सडकमा उत्रिएको थियो । तर निरंकुश सरकारले निहत्था बिद्यार्थीहरुमाथि गोली बर्षायो । कलिला युवाहरु जो सुन्दर भविष्यका सपना देखिरहेका थिए, उनीहरुको हत्या गर्यो । कयौं बिद्यार्थीहरुलाई घाईते बनायो ।र तपाईहरुलाई पुनश्चः स्मरण गराऔं, त्यस तत्कालिन सरकारको नेतृत्व तपाईहरुकै पार्टीको अध्यक्षले गर्नुभएको थियो, तपाईहरूले गर्नुभएको थियो ।
एमालेका नेतृत्वकर्ताहरूले भदौ २३ को घटनामा एकपटक माफी समेत मागेका छैनन बरु सधैजसो सार्वजनिक अभिव्यक्तिहरुमा गिज्याउँदै त कहिले सार्वजनिक मन्चहरुबाट गुण्डाहरुमार्फत धम्क्याउदै हामीमाथि निरन्तर आक्रमण गराउन कोसिस गरिरहेका छन् । तर हामी यतिखेर शान्तपूर्वक तपाई प्रतिनिधीहरुको मत पर्खेर बसेका छौं। हामी तपाईहरुको नैतिकता हेरिरहेका छौं। हामी तपाईहरुको देशप्रेम र देशका युवाहरुप्रतिको सद्भाव, महाधिवेशनको व्यालेट बक्समा कसरी खस्छ, त्यो कुरिरहेका छौं।
आदरणीय प्रतिनिधी ज्यूहरु, यतिखेर सबैभन्दा प्रमुख प्रश्न हो, केपी शर्मा ओलीको हात त हाम्रो पुस्ताको रगतले रंगिएको छ,के त्यो रगतको भागीदारिता तपाईहरु पनि वहन गर्न तयार हुनुहुन्छ ? त्यसैले पनि सम्भवतः यो एउटा अन्तिम अवसर हो । तपाईको पार्टीलाई सच्याउने, तपाईहरू पनि सच्चिने र युगान्तकारी परिवर्तनको संवाहक बन्ने यो अवसर तपाईहरुले गुमाउनुभयो भने, तपाईहरुको पार्टीमात्र नभई देशको भविष्य नै अन्धकार हुनेछ । तपाईहरूको मन एकातिर मत एकातिर नहोस्। यसपटक यस्तो नेतृत्व छनोट गर्नुस् जसले फेरि भदौ २३ ननिम्त्याओस्।
एउटा तानाशाही शासकको अहंकारी गोलीबाट बाँचेकी, एक जेन जी आन्दोलनकारी।
– रक्षा बम