नेपाललाई आजको २१औं शताब्दीको मापदण्डमा पुर्याउने नेपाल नागरिक पार्टीको घोषणा


काठमाडौं, ५ पुष । नेपाल नागरिक पार्टीले नेपाललाई आजको २१औं शताब्दीको मार्गमा पुर्याउने उद्देश्य लिएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दलको प्रतिबद्धता र भावी योजना सार्वजनिक गर्दै सो दलको तर्फबाट उपसभापति डा. महेन्द्र शाहले यस्तो घोषणा गरेका हुन् ।

उनले आफूहरु सहकारी ठगेर, घडी चोर्न र बाख्रा चोर्नको लागि राजनीतिमा नआएको स्पष्ट पारे । उनले आफूहरु कोशी, गण्डकी, महाकाली नबेच्ने प्रतिबद्धता जनाए । कलकारखाना आफूहरुको मुख्य प्राथमिकताको विषय भएको उनको भनाई छ । आफ्नो दलले डिजिटल शिक्षा लागु गर्ने नीति लिएको पनि उनले सुनाए । उनले मुलुकलाई सबै हिसाबले आत्मनिर्भर बनाउने उद्देश्य राखेको पनि बताए । उनले आफूहरुले विदेशीको कलो नखाएकोले विदेशीको एजेण्डा नबोक्ने स्पष्ट पारे ।

सहमहामन्त्री गणेश बज्राचार्यले स्वागत मन्तव्य राखेका थिए । अहिलेको अवस्थामा यो पार्टी किन जन्मियो भनेर पनि उनले प्रकाश पारेका थिए । भ्रष्टाचार, अन्याय र अत्याचारको अन्त्य गर्नको लागि यो पार्टी जन्मिएको उनको दाबी छ । उनले देशलाई चिनाउनको लागि र पहिचान दिलाउनको लागि यो पार्टी जन्मिएको बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य गजेन्द्र ढकालले देशको लागि सुहाउने नीति लिएर आफूहरु आएको बताए । उनले नेपाली जनताको मन जित्नको लागि दल दर्ता गरेको सुनाए । सर्वसाधारण जनताको हकहित र शान्ति–सुरक्षा, राज्य र जनता दुवैलाई सम्हालेर लैजानको लागि यो दल जन्मिएको उनको दाबी छ ।

यस्तै, महामन्त्री पुजनजंग गुरूङले जेनजी आन्दोलनले नेपालमा व्याप्त भ्रष्टाचार, नातावाद, कृपावादलाई उजागर गरिदिएको स्पष्ट पारे । उनले नैतिक जिम्मेवारी लिएर नै आफू राजनीतिमा होमिएको सुनाए । भोट हालेपछि आफ्नो नागरिक जिम्मेवारी पूरा भएको नठान्न पनि उनले हरेक नागरिकलाई अपिल गरे ।

उनले आफूहरुसँग देश बनाउने हुटहुटी रहेको र कोहीभन्दा कम नभएको स्पष्ट पारे । उनले राजनीति सिद्धान्तनिष्ठ र समाधानमुखी हुनुपर्नेमा जोड दिए । नागरिकवाद दर्शन र नागरिक तन्त्र नै आफूहरुको विचार र सिद्धान्त रहेको उनले बताए ।