अहिलेकै परिस्थिति कायम रहे राजसंस्था फर्कनसक्छ : विद्यादेवी भण्डारी


काठमाडौं, ५ पुष । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेकै परिस्थिति कायम रहे राजसंस्था फर्कनसक्ने टिप्पणी गरेकी छिन् । राजसंस्था फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह राजा बन्नसक्ने उनको भनाई छ । उनले भनेकी छिन्,‘राजसंस्था एउटा शक्ति हो । त्यसलाई माईनस गरेर जान सकिँदैन । पूर्वराजा ज्ञानेन्द्र शाह देश नछोडि बस्नु राम्रो पक्ष हो ।’

पूर्वराष्ट्रपति भण्डारीले एमाले फुट्न नदिने स्पष्ट पारिन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संघर्ष भने जारी रहने प्रतिक्रिया दिएकी छिन् । आज (शनिबार) राति ८ः०० बजे प्राइम टिभीबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएकी छिन् ।

उनले गत साउन ४ गतेदेखि केपी ओलीसँग बोलचाल बन्द रहेको पनि खुलासा गरिन् । उनले भनेकी छिन्–‘मैले उहाँलाई बधाई पनि फेशबुकमार्फत दिएको छु । उहाँलेपनि टेलिफोन गरेको छैन । मैले पनि गरेको छैन ।’ उनले नयाँ दल खोल्ने कुरा सोच्नपनि नसक्ने बताएकी छिन् । तर, आफू सक्रिय राजनीतिमा रहिरहने उनको प्रण छ । पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीकै नेतृत्वमा चुनाव हुनुपर्ने भन्दै अहिले यो सरकारको विकल्प खोज्न नहुने धारणा राखिन् ।