सियोल, ९ पुस । युक्रेनमा बन्दी बनाइएका दुई जना उत्तर कोरियाली युद्धबन्दीले दक्षिण कोरियामा ‘नयाँ जीवन’ सुरु गर्ने आशा व्यक्त गरेका छन् । एएफपीले बुधबार प्राप्त गरेको पत्रमा उनीहरूले दक्षिण कोरियाली जनताको समर्थनप्रति आभार व्यक्त गर्दै आफ्नो भविष्यप्रति सकारात्मक दृष्टिकोण राखेको उल्लेख गरिएको छ ।
यसअघि आएका प्रतिवेदनहरूले युद्धको मैदानमा घाइते भएपछि जनवरी महिनादेखि किएभद्वारा बन्दी बनाइएका ती दुई सैनिकले दक्षिण कोरियातर्फ जान इच्छुक रहेको सङ्केत गरेका थिए । तर उक्त पत्रमार्फत उनीहरूले आफ्नै शब्दमा पहिलो पटक आफ्नो चाहना सार्वजनिक गरेका हुन् ।
अक्टोबरको अन्त्यतिर सियोलस्थित एक अधिकार समूहलाई लेखिएको पत्रमा उनीहरूले ‘दक्षिण कोरियाली जनताको समर्थनका लागि धन्यवाद । नयाँ सपना र आकांक्षाहरूले हाम्रो जीवनमा जरा गाड्न थालेका छन्’ भनी उल्लेख गरेका छन् । यो पत्र उक्त समूहले यसै हप्ता एएफपीसँग साझा गरेको हो ।
दक्षिण कोरियाली तथा पश्चिमी गुप्तचर निकायका अनुसार उत्तर कोरियाले युक्रेनमा रुसले झण्डै चार वर्षदेखि गरिरहेको आक्रमणलाई सहयोग गर्न हजारौँ सैनिक पठाएको छ । दक्षिण कोरियाको अनुमानमा तीमध्ये कम्तीमा ६०० जनाको ज्यान गएको छ भने हजारौँ घाइते भएका छन् ।
विश्लेषकहरूका अनुसार उत्तर कोरियाले यस सैन्य सहयोगको बदलामा रुसबाट आर्थिक सहायता, सैन्य प्रविधि साथै खाद्यान्न र ऊर्जा आपूर्ति प्राप्त गरिरहेको छ । दक्षिण कोरियाको गुप्तचर सेवाले उत्तर कोरियाली सैनिकहरूलाई बन्दी पर्नुभन्दा आत्महत्या गर्न निर्देशन दिइएको दाबीसमेत गरेको छ ।
पत्रमा ती दुई युद्धबन्दीले आफूहरूको तर्फबाट पहल गरिदिने सबैप्रति धन्यवाद व्यक्त गर्दै ‘हाम्रो अवस्थालाई त्रासदीको रूपमा होइन, नयाँ जीवनको सुरुआतको रूपमा हेर्न प्रेरित गर्नुभएकोमा हामी आभारी छौँ’ भनी लेखेका छन् । उनीहरूले ‘हामी कहिल्यै एक्लै हुँदैनौँ भन्ने दृढ विश्वास छ । दक्षिण कोरियाका जनतालाई हामी आफ्ना आमाबुबा तथा दाजुभाइ–दिदीबहिनीसरह सम्झन्छौँ र उनीहरूलाई अँगाल्ने निर्णय गरेका छौँ’ भनी भावुक शब्दमा उल्लेख गरेका छन् ।
उक्त पत्रमा दुई जना सैनिकको हस्ताक्षर भए पनि उनीहरूको सुरक्षालाई ध्यानमा राख्दै नाम सार्वजनिक नगरिदिन एएफपीलाई अनुरोध गरिएको छ ।
दक्षिण कोरियाको संविधानअनुसार उत्तर कोरियामा जन्मिएका सबै कोरियालीलाई नागरिक मानिने व्यवस्था छ । सियोलले युक्रेनमा बन्दी बनाइएका कुनै पनि उत्तर कोरियाली सैनिकमा यो व्यवस्था लागू हुने स्पष्ट पारेको छ ।
उत्तर कोरियाली भगौडाहरूलाई सहयोग गर्दै आएको ग्योर–इओल नेशन युनाइटेड (जिएनयु) नामक अधिकार समूहले समन्वय गरिरहेको एक वृत्तचित्र फिल्मका लागि गरिएको अन्तर्वार्ताका क्रममा यो पत्र पठाइएको हो । अन्तर्वार्ता किएभको एक गोप्य स्थानमा गरिएको थियो, जहाँ ती युद्धबन्दीलाई पक्राउपछि राखिएको छ ।
सन् २००० को दशकमा उत्तर कोरियाबाट पलायन भएका जिएनयु प्रमुख जाङ से–युलका अनुसार अन्तर्वार्ताका क्रममा ती दुई जनाले आफूहरूलाई दक्षिण कोरियामा पठाइदिन अनुरोध पनि गरेका छन् । उक्त भिडियो अझै सार्वजनिक गरिएको छैन तर अर्को महिना सार्वजनिक हुने अपेक्षा गरिएको उनले जानकारी दिएको छ ।
फेब्रुअरी महिनामा युक्रेन भ्रमणका क्रममा ती युद्धबन्दीलाई भेट्नुभएका दक्षिण कोरियाली सांसद यु योङ–वोनले उनीहरूले घाइते सहकर्मीहरूले ग्रेनेड प्रयोग गरी आत्महत्या गरेको दृश्य देखेको बताएको थियो । उनका अनुसार ती सैनिकलाई उत्तर कोरियामा फिर्ता पठाइनु भनेको ‘मृत्युदण्ड’ सरह हुनेछ ।
यसैबीच, दक्षिण कोरियाको विदेश मन्त्रालयले युक्रेन सरकारलाई उत्तर कोरियाली युद्धबन्दीहरूलाई उनीहरूको इच्छा विपरीत जबरजस्ती स्वदेश फिर्ता नगर्न आग्रह गरेको छ । मन्त्रालयले दक्षिण कोरिया जान चाहने उनीहरूको चाहनालाई सम्मान गर्न विशेष अनुरोधसमेत गरेको छ । रासस




प्रतिक्रिया