सर्वोच्चको पुनरावलोकनबाट आधिकारिकता पाउँछौँ : प्रकाशशरण महत


२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका देउवा पक्षका नेता डा. प्रकाशशरण महतले सर्वोच्च अदालतको पुनरावलोकन प्रक्रियाबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।

शनिबार देउवा समूहले आयोजना गरेको काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महतले सर्वोच्च अदालतले यसअघिको निर्णयमा त्रुटि रहेको स्वीकार गर्दै पुनरावलोकनका लागि अनुमति दिएकाले अन्ततः पार्टीको आधिकारिकता आफूहरूले नै प्राप्त गर्ने दाबी गरे ।

‘सर्वोच्च अदालतले पहिलाको निर्णयमा कमीकमजोरी थियो, त्रुटि थियो भनेर स्वीकार गरिसकेको अवस्थामा अवश्य पनि न्यायको विजय हुन्छ । न्यायको पक्षमा निर्णय हुन्छ भन्ने हामीलाई विश्वास छ,’ उनले भने ।

उनले थपे, ‘अझै पनि यो देशमा न्याय मरेको छैन भने सर्वोच्च अदालतको रिभ्युमार्फत हामीले नै आधिकारिकता पाउँछौँ ।’

महतले नेपाली कांग्रेसको मूल विचार, सिद्धान्त र आदर्श पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूहले मात्रै बोकेको जिकिर गरे । पार्टीको विधि र प्रक्रियाअनुसार आफूहरू अघि बढिरहेको उनको भनाइ थियो ।

‘नेपाली कांग्रेसको मूल आत्मा हामीमा छ । शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेसमा छ । नेपाली कांग्रेसको विचार, सिद्धान्त र आदर्शलाई हामीले बोकेका छौँ,’ उनले भने ।

यसैगरी, उनले गगन थापा नेतृत्वको कांग्रेसले बीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको सिद्धान्त छाडेको आरोप लगाए ।

महतले अहिले सामाजिक प्रजातन्त्रको कुरा गर्न थालिएको भन्दै कांग्रेसको मूल विचार र संस्कारबाट विचलित भएको टिप्पणी गरे ।

‘बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादलाई उहाँहरूले छोडिसक्नुभयो । उहाँहरूले अहिले सामाजिक प्रजातन्त्र भन्न थाल्नुभएको छ । रास्वपाको पनि सामाजिक प्रजातन्त्र, गगनजीको नेतृत्वको कांग्रेसको पनि सामाजिक प्रजातन्त्र,’ उनले भने ।