प्रतिनिधिसभा पुनर्स्थापना भयो भने पनि हामी विरोध गर्दैनौंः देवेन्द्र पौडेल (भिडिओसहित)


काठमाडौं, ९ पुस । नेपाली कम्युनिष्ट पार्टीका नेता देवेन्द्र पौडेलले आफ्नो पार्टीको एजेण्डा निर्वाचन नै रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले निर्वाचन नै अबको लोकतान्त्रिक निकास हो भन्ने कुरामा आफूहरुको पार्टी प्रतिवद्ध रहेको बताएका हुन् । निर्वाचन आयोगको सूचना र तयारी हेर्दा निर्वाचनको वातावरण बनेको उनले बताए । तर, सरकारले आवश्यक ध्यान पुर्याउन नसकेको उनको टिप्पणी छ ।

‘निर्वाचन आयोगको सूचना र तयारी हेर्दा निर्वाचनको वातावरण बनेको छ । तर, सरकारले निर्वाचनको वातावरण बनाउनका लागि सर्वदलीय बैठक बोलाउने, निर्वाचनमा सहभागी हुने पक्षहरुसँग सहमति गर्ने र कतिपय परेका अप्ठ्याराहरुको सहजीकरण गर्दै जाने कुरामा सरकारको ध्यान, सरकारको सक्रियता र सरकारको भूमिका देखिएको छैन । तर, फेरि पनि निर्वाचन नै अबको लोकतान्त्रिक निकास हो भन्ने कुरामा हाम्रो पार्टी प्रतिवद्ध छ,’– उनले भने ।

संसद् पुनर्स्थापनाले जेन–जी आन्दोलनेको उद्देश्य पूरा नहुने उनको भनाइ छ । अहिले संसद् पुनर्स्थापना अदालतको विषय बनिसकेको बताउँदै उनले आएको निर्णय आफूहरुलाई स्व्ीकार रहेको पनि नेता पौडेलले बताए । उनले भने, ‘संसद् पुनर्स्थापना हुनेबित्तिकै अहिलेको संविधानले प्रधानमन्त्री संसद्बाटै खोज्छ । संसद् पुनर्स्थापना हुनेबित्तिकै ठूलो दल र कसले बहुमत सिर्जना गर्छ भन्ने कुरा स्वतःजान्छ । त्यसले जेन–जी आन्दोलनको उद्देश्य पूरा हुँदैन । देश अर्को बाटोतिर जान्छ । अराजकतातिर जान्छ । त्यसो भएको हुनाले हामीले चुनाव भनेका हौं । अदालतको विषय हो, संसद् पुनर्स्थापना भएछ भने पनि हामीले विरोध गर्दैनौं । तर, झन अस्थिरतातिर लिएर जानुभन्दा पनि सहमतिमा निकास दिएर जानुपर्छ भन्ने देउवाको कुरालाई सहज रुपमा लिनुपर्छ,’– उनले भने ।

संसद् पुनर्स्थापना हुनेबित्तिकै वर्तमान सरकारको वैधानिकता पनि समाप्त हुने उनले बताए । देश झन अराजकता र अस्थिरतातिर नजाओस् भन्नेका लागि नेपाली कम्युनिष्ट पार्टीले निर्वाचनको बाटो खोजेको उनले बताए । जनताले अहिलेको पछिल्लो परिस्थितिअनुसार लाइन लागेर, भोट हालेर, कसलाई जनताले वैधानिकता दिन्छन्, त्यसैलाई नै सरकारको नेतृत्व सु्म्पिनुपर्छ ।

साथै, उनले संसद् पुनर्स्थापनाको औपचारिक विरोधी आफूहरु नरहेको उनले बताए । यद्यपि यो अदालतको विषय भइसकेको बताउँदै उनले यसलाई राजनीतिक विषय बनाइन नहुने बताए । देशमा ठूला दललाई बाइपास गरेर भने चुनाव गर्न नसकिने उनको भनाइ छ । ठूला दललाई बाइपास गरेर अर्को खेल खेल्न किमार्थ सम्भव नरहेको उनको भनाइ छ ।

अहिले आन्दोलनको बेलामा वर्तमान सरकारलाई खुट्टा टेकाएको बताउँदै उनले यो सरकारले चुनाव गर्नुको अर्को बाटो नरहेको बताए । प्रधानमन्त्री कार्कीलाई कतिपयले पुराना दललाई बाइपास गरेर अगाडि बढ्न दवाब दिएको आफूहरुले थाहा पाएको उनले बताए । उनले त्यसो नगर्ने प्रधानमन्त्री कार्कीलाई सुझाव दिए । यो बेलामा सरकार र संविधानको रक्षाको पक्षमा सर्वपक्षीय सहमति खोजेर अगाडि बढ्ने कुरालाई नेपाली कम्युनिष्ट पार्टीले विरोधन नगर्ने उनले बताए ।