खुफूको डुङ्गा पुनः एकत्रित


कायरो, ९ पुस  । ग्रान्ड इजिप्टियन सङ्ग्रहालयको विशाल प्रदर्शनी हलमा एक प्राचीन इजिप्टियन फिरऊनको ऐतिहासिक डुङ्गा सार्वजनिक रूपमा पुनः भेला गर्ने काम सुरु भएको छ । मङ्गलबार बिहान दर्जनौँ आगन्तुकको उपस्थितिमा राजा खुफूका दुई डुङ्गामध्ये एउटा देवदारको काठबाट बनेको डुङ्गालाई सङ्ग्रहालयका कर्मचारीहरूले सावधानीपूर्वक एक–एक भाग जोड्न थालेका छन् ।

बयालिस मिटर (१३७ फिट) लामो उक्त डुङ्गाको पुनर्संरचना प्रक्रिया यसको पहिले नै भेला भइसकेको जुम्ल्याहा डुङ्गाको छेउमै भइरहेको छ, जुन हाल सङ्ग्रहालयमा प्रदर्शनमा रहेको छ । ग्रान्ड इजिप्टियन सङ्ग्रहालयका पुनःस्थापना प्रमुख इसा जेइडनका अनुसार यस डुङ्गालाई पूर्ण रूपमा भेला गर्न करिब चार वर्ष लाग्ने अपेक्षा गरिएको छ । उक्त डुङ्गा एक हजार ६५० वटा काठका टुक्राबाट बनेको छ, जसलाई वैज्ञानिक विधि अपनाएर क्रमशः जडान गरिँदै छ ।

राजा खुफूले करिब चार हजार ५०० वर्षअघि प्राचीन इजिप्टमा शासन गरेका थिए र उनकै शासनकालमा गिजाको विश्वप्रसिद्ध महान पिरामिड निर्माण गरिएको थियो । कार्यक्रममा सहभागी पर्यटन तथा पुरातत्व मन्त्री सेरिफ फाथीले यो पुनःस्थापना कार्यको ऐतिहासिक महत्त्व उल्लेख गर्दै भने, “आज यहाँ उपस्थित सबैले २१औँ शताब्दीका सबैभन्दा महत्त्वपूर्ण पुनःस्थापना परियोजनामध्ये एकको प्रत्यक्ष साक्षी बन्नु भएको छ ।”

करिब एक अर्ब अमेरिकी डलरको लागतमा निर्माण गरिएको जिइएम पनि भनिने ग्रान्ड इजिप्टियन सङ्ग्रहालयको गत महिना भव्य रूपमा उद्घाटन गरिएको थियो । उद्घाटनसँगै यसलाई विश्वकै सबैभन्दा ठूलो सङ्ग्रहालयका रूपमा चिनिएको छ । यस सङ्ग्रहालयमा करिब ५० हजार ऐतिहासिक तथा सांस्कृतिक कलाकृतिहरू सङ्गृहीत छन्, जसमा सन् १९२२ मा फेला परेको प्रसिद्ध राजा तुतानखामुनको समाधिबाट प्राप्त अमूल्य खजाना पनि समावेश छन् । कायरोको बाहिरी क्षेत्रमा गिजाको पिरामिड नजिकै अवस्थित यस सङ्ग्रहालयले इजिप्टको पर्यटन राजस्व वृद्धि गर्ने र कमजोर अवस्थामा रहेको अर्थतन्त्रलाई सुदृढ बनाउने महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

उक्त डुङ्गा सन् १९५४ मा ग्रेट पिरामिडको दक्षिणी भागमा फेला परेका दुईवटा डुङ्गामध्ये एक हो । सङ्ग्रहालयको वेबसाइटका अनुसार यसका काठका भागहरूको विस्तृत उत्खनन कार्य सन् २०१४ मा सुरु गरिएको थियो, जसपछि वैज्ञानिक परीक्षण र संरक्षणको प्रक्रिया अघि बढाइएको हो ।

डुङ्गाहरूको वास्तविक उद्देश्य अझै पूर्ण रूपमा स्पष्ट हुन सकेको छैन । यद्यपि, विशेषज्ञहरूका अनुसार ती डुङ्गा या त राजा खुफूको अन्त्येष्टिका क्रममा उहाँको पार्थिव शरीर ढुवानी गर्न प्रयोग गरिएका हुनसक्ने वा मृत्यु पश्चात सूर्य देवता रासँगको आध्यात्मिक यात्राका लागि प्रतीकात्मक रूपमा प्रयोग गरिएको हुनसक्ने सङ्ग्रहालयले जनाएको छ । रासस