कांग्रेस १५औं महाधिवेशनः उपसभापति वा महामन्त्रीभन्दा तलको पदमा उम्मेदवारी नदिने नेता भट्टराईको उद्घोष


काठमाडौं, ९ पुस । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले पार्टी अहिले महाधिवेशनको तयारीमा जुटिरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित दलका नेतासँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सदस्यता वितरणको काम भइरहेको बताए । उनले पुसभित्रै महाधिवेशन सक्ने आफूहरुको लक्ष्य रहेको बताए । पार्टीको विधानमा दुई पटकभन्दा धेरै पार्टी सभापतिमा निर्वाचन लड्ने व्यवस्था नरहेको कारण यसपाली पार्टीले नयाँ सभापति पाउने बताए ।

अहिले आफू तेस्रो पटक केन्द्रीय समितिमा रहेको बताउँदै उनले १५औं महाधिवेशनमा भने आफूले उपसभापति वा महामन्त्री पदको लागि उम्मेदवारी दिने तयारी गरेको बताए । उपसभापति र महामन्त्रीभन्दा तलको पदमा आफूले उम्मेदवारी नदिने पनि उनले बताए ।

‘यो पटक मैले उपसभापति वा महामन्त्रीमा उम्मेदवारी दिने सोच बनाएको छु । कुनमा लड्ने भनेर मैले साथीभाइसँग सल्लाह गर्न बाँकी नै छ । उपसभापति र महामन्त्रीभन्दा तलको पदमा अब मैले उम्मेदवारी दिन्नँ,’– उनले भने ।

उनले जेन–जी आन्दोलनको क्रममा लागेको आगो निभाउनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले चालेको कदमले देशलाई थप द्वन्द्वमा जानबाट रोकेको उनको दाबी छ । निर्वाचनपछि देश संविधानको ट्रयाकमा फर्किने र फागुन २१ गते निर्वाचन हुनुपर्ने उनले बताए । कांग्रेसको पहिलो प्राथमिकता निर्वाचन रहेको पनि उनले बताए ।

हिजो आन्दोलनमा भएका मान्छे र जेन–जीहरु नै अहिले संसद् पुनर्स्थापनाको मुद्दा लिएर सडकमा आइरहेको उनले बताए । कांग्रेसले संसद् पुनर्स्थापना नभएर ताजा जनादेशको आधारमा निकास खोज्न चाहेको उनले बताए । ‘कांग्रेस पार्टी चाहन्छ कि– यो संसद् पुनर्स्थापना होइन, ताजा जनादेशको आधारमा संविधानको संशोधन गर्यौं भने राम्रो हुन्छ,’– उनले भने ।