प्रतिनिधिसभा पुनर्स्थापना हुँदैछ, यसमा दुईमत छैनः एमाले नेता पोखरेल


काठमाडौं, ९ पुस । नेकपा (एमाले) का नेता आनन्द पोखरेलले अहिले नेपालको संविधान ठीक ठाउँमा नरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित दलका नेतासँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान डिरेल भएको बताएका हुन् । ‘संविधान ठीक ठाउँमा छैन । संविधान डिरेल भएको छ । अहिलेको सरकार जुन ढंगले बनेको छ, यो सरकार असंवैधानिक हो । यसलाई दलहरुले पनि स्वीकार गरेका छैनन् । जेन–जीहरु पनि सडकमा आमरण अनशन बसेका छन्,’– उनले भने ।
नेता पोखरेलले हाल स्वयं सुशीला कार्कीलाई पनि दिक्क लागेको टिप्पणी गरे । प्रधानमन्त्री कार्की अहिले ‘म कतै गैरसंवैधानिक ढंगले यहाँ बसेर जागिर त खाइरहेको छैन ?’ भन्ने मनोग्रन्थीबाट पीडित रहेको पनि उनले बताए । वर्तमान सरकारलाई स्वीकार गर्नेहरुले भदौ २४ गतेको विध्वंशलाई पनि स्वीकार र समर्थन गर्न सक्नुपर्ने उनले बताए ।

उनले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन हाइज्याक भएको बाह्य तत्वहरुको घुसपैठ भएको दाबी गरे । सो क्रममा भएको विध्वंश जेन–जीहरुको क्रियाकलाप नरहेको उनको दाबी छ । सो क्रममा आफ्नो घर पनि ध्वस्त भएको बताउँदै उनले यसलाई क्रान्तिको संज्ञा दिन नसकिने बताए । जेन–जीको नाममा अरु टाठाबाटाहरुले आफ्नो दुनो सोझ्याएको र अहिले सत्तामा रहेकाहरु पुराना दलभन्दा भिन्न नरहेको दाबी गरे ।

अहिले सरकारमा रहेकाहरुले मुलुकलाई विध्वंश गरेको र उनीहरु विदेशीहरुको टोपी लगाएर नेपालको विरुद्धमा काम गर्ने व्यक्ति रहेको नेता पोखरेलको दाबी छ । नेता पोखरेलले जेन–जीको नाममा भएको आन्दोलन मार्क्सवादको विरुद्धमा रहेको बताए ।

उनले अहिले देशमाथि बदमासी गर्ने काम भइरहेको दाबी गरे । एमाले संसद् पुनर्स्थापनाको पक्षमा रहेको र आफूहरुले न्यायलयलाई गुहारेको उनले बताए । एमालेमात्रै नभएर नेपाली कांग्रेस र अरु राजनीतिक दलहरु पनि संसद् पुनर्स्थापनाको पक्षमा उभिएको उनले बताए । अहिले नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी संसद् पुनर्स्थापनाको पक्षमा नभएको स्मरण गराउँदै नेता पोखरेलले उनीहरु पनि त्यही ठाउँमा आउनुको विकल्प नरहेको बताए । उनले प्रधानमन्त्री सुशीला कार्कीको जेठो छोरा (सुदन गुरुङ) समेत अब निर्वाचन हुँदैन, संसद् पुनर्स्थापना हुनुपर्छ भन्ने पक्षमा गइसकेको उनले बताए । यो संसद् पुनर्स्थापना गरेर अहिले रहेको प्रश्नहरुको निरुपण गरेर अगाडि बढ्नुपर्ने र सबै दलको सहमति गरेर निर्वाचनमा जानुपर्ने उनले बताए ।

‘अब संसद् पुनर्स्थापना हुँदैछ । यसमा दुईमत छैन । अब संवैधानिक परीक्षणले संसद् पुनर्स्थापना भएन भने एमाले चुनावमा जान्छ । त्यसको तयारी हामीले गरिसकेका छौं । तर, यो सरकारले फागुन २१ गते निर्वाचन गराउन सक्दैन । तयारी पनि छैन । खाली मिडियामा चर्चा गरेर चुनाव–चुनाव भनिरहेका छन्,’– उनले भने ।
अहिले संविधानको सरकार बनाउने धारा कोमामा पुगेको उनको टिप्पणी छ । उनले एमाले संविधान संशोधनको विपक्षमा नरहेको बताए । एमालेले गणतन्त्र, लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायको विरुद्धमा संविधान संशोधन नगर्ने उनले बताए । मात्रै निर्वाचन प्रणालीमा सुधारको लागि एमाले संविधान संशोधनको पक्षमा रहेको बताए ।

उनले राजावादी, मुलुकलाई धर्मको आडबाट चलाउन खोज्ने र रवि लामिछानेलाई जेलबाट छुटाउन चाहनेहरुले जेन–जी आन्दोलनको क्रममा आफ्नो घर जलाएको उनले बताए । मुलुकमा आतङ्क फैलाउने तागतले अहिले सबै कुरालाई ठीक भनिरहेको उनले बताए । विध्वंशमा संलग्न भएका राजनीतिक दलहरुलाई फर्किर संवैधानिक बाटोमा आउने उनले आग्रह गरे ।