काठमाडौं, १० पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीले संसद् पुनर्स्थापनाको पक्षमा उभिने निर्णय नगरेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुको बटमलाइन निर्वाचनमा जाने नै रहेको र यद्यपि अदालतको फैसलालाई भने सहज रुपमा स्वीकार गरिने बताएका हुन् । कांग्रेसका निवर्तमान सांसदहरु पार्टीको निर्णयमा अदालत नगएको उनको दाबी छ । कांग्रेसका निवर्तमान सांसदहरुले आफ्नो वैयक्तिक अधिकार प्रयोग गरेर अदालत गएको उनले बताए । उनीहरु अदालत जानु पार्टीको निर्णय विपरीत रहेको नेता शिवाकोटीको दाबी छ ।
‘हामीले निर्वाचनमा जाने नै कुरा गरेका हौं । संसद् पुनर्स्थापनाको विषय अदालतमा विचाराधीन रहेको अवस्थामा अदालतले गरेको फैसलालाई पनि हामी शिरोपर गर्छौ । निर्णय हामीले निर्वाचन भनेका छौं । अदालत गएको पार्टीको तर्फबाट निर्णय गरेर गएको होइन । अदालत जानु उनीहरुको वैयक्तिक अधिकार हो । अदालत जानु पार्टीको निर्णय विपरीत हो,’– उनले भने ।
साथै, आफूहरु अहिलेको सरकारको विरुद्धमा नउभिएको नेता शिवाकोटीले बताए । जहाँ पनि अवरोध र विरोध गरेर देशले निकास नपाउने बताउँदै उनले कांग्रेसले गर्न सक्ने ठाउँमा सरकारलाई सहयोग गर्ने बताए । उनले भने, ‘कांग्रेस यो सरकारको विरुद्धमा उभिएको छैन । देशलाई निकास दिनुपर्ने छ । अहिले जहाँ पनि अवरोध र विरोध गर्दैगर्दा निकास पाउन सक्दैन । हामीले सहयोग गर्न सक्ने ठाउँमा सहयोग गर्ने भनेकै हो ।’
तर, वर्तमान सरकारले सोचेअनुरुप काम गर्न नसकेको उनले बताए । जसले सरकार बनाएका हुन्, उनीहरु नै अहिले यो सरकारको विरुद्धमा उत्रिएको नेता शिवाकोटीले बताए । सरकार आफ्नो उद्देश्य पूरा गर्न क्रियाशील होस् भन्ने आफूहरुको चाहना रहेको नेता शिवाकोटीले बताए । सरकारले चुनावको माहोल बनाउनका लागि वातावरण निर्माण गर्न ढिला गरेको उनले बताए । नेता शिवाकोटीले प्रधानमन्त्री सुशीला कार्कीले दलका नेताहरुको अनुहार हेर्दिनँ भने पनि हेर्नुपर्ने वातावरण बनेको बताए ।
निर्वाचनबारे निर्वाचन आयोगले नै अहिले संशय व्यक्त गरिरहेको, सुरक्षा व्यवस्था चुस्त दुरुस्त नरहेको उनले बताए । नेता शिवाकोटीले कांग्रेस निर्वाचन अगाडि कुनै दलसँग पनि चुनावी गठबन्धन र तालमेल नगर्ने बताए । पार्टीको महासमिति बैठकले नै उक्त निर्णय गरिसकेको उनले स्मरण गराए ।
साथै, कांग्रेसको महाधिवेशन यही पुसभित्र हुने पनि बताए । महाधिवेशन नभएको खण्डमा विशेष महाधिवेशनको बाटो खुला नै रहेको उनले बताए । उनले भने, ‘तोकिएको मितिभित्र १५औं महाधिवेशन भएन भने विशेष महाधिवेशन हुन्छ ।’




प्रतिक्रिया