कांग्रेसले नयाँ नेतृत्व पाएपछि देशको संकट समाधान हुन्छः शेखर कोइराला (भिडिओसहित)


काठमाडौं, १२ पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफूहरु निर्वाचनमा एक्लै जाने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले इलेक्सन अगाडि गठबन्धन नहुने बताएका हुन् । उनले चुनावपछिको गठबन्धन भने गरेर सरकार बनाउनु आवश्यक रहेको बताए । ‘निर्वाचनपछि गठबन्धन हुन्छ । निर्वाचन अगाडि कांग्रेसले गठबन्धन गर्दैन, गर्न हुँदैन,’– उनले भने ।

साथै, कांग्रेसले पार्टीको १५औं महाधिवेशन गरेर नयाँ नेतृत्वको चयनसहित आगामी फागुन २१ गतेको निर्वाचनमा जाने बताए । उनले पार्टीको १५औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहेको पनि बताए । कांग्रेसको नयाँ नेतृत्व आइसकेपछि देशको संकट समाधान गर्न सकिने उनले बताए ।

‘नेपाली कांग्रेसको नयाँ नेतृत्व आइसकेपछि देशको संकट हामी समाधान गर्छौं । देशले भ्रष्टाचार नियन्त्रण गर भनेको छ, सुशासन देउ भनेको छ । सकिँदैन र ? सकिन्छ नि,’– उनले भने ।

साथै, उनले आफूलाई सभापति बनाउनका लागि पार्टी महामन्त्री गगन थापाले साथ दिने विश्वास व्यक्त गरे । यदि सहमति नभएको खण्डमा गगनसँग पनि प्रतिस्र्धा गर्ने उनले बताए । कांग्रेसमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको बहस पनि सुरु भएको नेता कोइरालाले बताए । आफू सभापति बन्नको लागि यसपटक सबै हिसाबले तयार भएर बसेको उनले बताए ।