प्रा.डा. विदुर चालिसे
दुईजना किशोरीहरू आफ्नो जीवनको गन्तव्य पूरा गर्न हिँडिरहेका बेला बाटोमा एकले अर्काेलाई मनको इच्छा धित मर्नेगरी सोधियो ।
‘जेल जति चल्यो– त्यति अभ्यास हुने खेलको नाम के हो ?’
‘राजनीति !’
एउटीले युद्धका सिपाहीको कथा–कुथुङ्ग्रीहरू भन्दै गई । उसको मनमा खास परिबन्दको चित्कार थियो । युद्ध लड्ने सिपाही कति बलवान् हुन्छ र युद्धको चक्रव्यूहमा फस्दा कति सास्ती पाउँछ भन्ने सत्यले साथीलाई राजनीतिको अर्थ बुझाउँथी । अर्की साथीचाहिँ युद्ध जितेको र चक्रव्यूह तोडेको लहैलहैमा दम्भ छोडेर भन्थी ।
‘आजको राजनीतिको युद्ध, प्रेम र उपभोगमा छ !’
राजनीतिक दर्शनको महान् चरित्र नायिकाका रूपमा रहेका यी दुई साथीको अवतार परिवर्तन देखेर धेरै मानिस सडकमा बखान गर्थे । लालायित हुन्थे र सुगन्धको पिछलग्गुतामा जयजयकार गरेर भन्थे ।
‘आजको राजनीतिक नेतृत्वको आवश्यकता !’
एकवार केही मानिसहरू आफ्ना महान् नेताको दर्शन गर्न गणेशले महादेवको परिक्रमा गरेझैँ महानेताको परिक्रमा गरिरहेका थिए । महानेताको हात, मुख, माथ, मुस्कान र भावना निकै उच्च भावमा ठडिइरहेको थियो । नजिकै गणेशको वाहन छुचुन्द्रो आएर सोध्यो ।
‘हजुरलाई कुनै सुरक्षा चुनौती छ कि ?’
महानेताले टाउको हल्लाएर गणेशतिर हेरे । अनौठो सङ्केत गरेर भने ।
––‘उपरवालेका जो हुकुम !’
त्यसपछि हिजो जेलमा चहलपहल हुने गरेको भिड, महानेताको चौतारोमा अचेल भित्रबाहिर गरेको दृश्य देखिन्थ्यो । सत्य साजिस मान्छेहरू घेराभन्दा बाहिर हेर्थे । नक्कलवादीहरूको ठुलो भिडमा महानेताले भूमिगत जीवनको सम्झनामा सबैलाई एक प्रश्न सोधे !
‘के तपाईहरू पुरानो नक्सलवादीको जमात हो ?’
सबैले अगाडि देखिएको अवसरको स्वादको लालचमा मुठ्ठी उठाएर भने ।
‘हो, हो, हामी सबै विगतका भूमिगत नक्सलवादी हौँ ।’
एकाएक जब महानेताको वरिपरि चरिरहेका नक्सलवादी नामका नक्कलवादीमाथि एक चक्रवातको धुँवा, धुलो, आगजनीको मुस्लो दन्किन थाल्यो । कराउँदै भाग्न थाले ।
‘हामी त हिजोका नक्सलवादी हैन ! हैन !! आजका नक्सलवादी हौँ । याने महानेता सक्ने नक्कलवादी ।’
जब आतङ्कले वातावरण असाध्यै आततायी बन्न थाल्यो । पुराना नक्सलवादीहरू पुर्पुरोमा हात राखेर रून थाले ।
‘नेतृत्वको अदूरदर्शिता !’
दुईजना किशोरीहरू टेलिभिजनको पर्दामा बक्न थाले ।
‘देख्यौ त जनता, जेन्जी आन्दोलनको प्रभाव !’




प्रतिक्रिया