निर्वाचन हुँदैन भनेका पूर्व प्रधानमन्त्री ओलीले पार्टी बैठकमा भने-हामी हमेशा तैनाथी र तम्तयार रहनुपर्छ


काठमाडौं, २८ पुष । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनको लागि हमेशा तैनाथी र तम्तयार रहनुपर्ने मत राखेका छन् । पार्टीको हालै बसेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा ओलीले आम निर्वाचनको सम्बन्धमा ब्रिफ गर्दै पार्टीका नेताहरुलाई यस्तो भनेका हुन् । उनले एमाले लोकतान्त्रिक निर्वाचनबाट कहिल्यैपनि नपन्छिने भनेका छन् । उनले २१ फागुनमा हुने निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरण बनाईनुपर्ने बताएका हुन् ।

उनले भनेका थिए-“हाम्रो पार्टी लोकतान्त्रिक निर्वाचनबाट कहिल्यै पन्छिँदैन, कहिल्यै पिठ्यु फर्काउँदैन । यस मान्यतालाई हामीले बारम्बार सार्वजनिक गर्दै आएका छौँ । फागुन २१ को प्रस्तावित निर्वाचनको बारेमा हामीले सुरुदेखि नै अविचलित मान्यता राख्दै आएका छौँ– शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको वातावरण सरकारले बनाउनै सकेको छैन । निर्वाचनको मूल मर्म भनेकै निर्भयताको वातावरण निर्माण हो । तर भदौ २४ गते भगाइएका कैदीहरूमध्ये पाँच हजार भन्दा बढीलाई बाहिरै राखेर, लुटिएका आधुनिक हतियारमध्ये सात सयभन्दा बढी हतियार र हजारौँ राउण्ड गोली बाहिरै राखेर अनि त्यसै पनि मनोबल खस्किएको सुरक्षा निकायलाई प्रत्यक्ष, परोक्ष कारबाही र अन्य क्रियाकलापबाट अझ बढी मनोबल खस्काउँदै भदौ २४ को विध्वंशमा संलग्न र पछि पनि विभिन्न अपराधकर्ममा लागेकाहरूमाथि अनुसन्धान, तहकिकात र अभियोजन गर्न बाधा सिर्जना गरेर सरकारले कसरी भयरहित निर्वाचनको प्रत्याभूति गर्न सक्छ ?”

यद्धपी उनले निर्वाचनको सुनिश्चित् नभएको बताएका हुन् । उनले भनेका छन्,”हामीले सार्वजनिक रूपमा पनि र सरकारका प्रतिनिधिहरूसँगको वार्तामा पनि बारम्बार यो विषय उठाइरहेका छौँ । तर अझै पनि निर्वाचनको सुनिश्चित र निर्भयताको वातावरण बनिसकेको छैन । तर पार्टी के कुरामा स्पष्ट छ भने ढिलो चाँडो मुलुक निर्वाचनमा जाने नै छ । त्यसका लागि पार्टी हमेशा तैनाथी र तम्तयार अवस्थामा रहनुपर्छ । केन्द्रीय कमिटीको यो बैठक सिङ्गो पार्टीपङ्क्तिलाई निर्वाचनका लागि हमेशा तम्तयार अवस्थामा रहन र यसका लागि आवश्यक तयारीलाई तीब्रता दिन आह्वान गर्दछ ।”