जापानमा फेब्रुअरीमा मध्यावधि चुनाव घोषणा गर्ने तयारी


टोकियो, ३० पुस । जापानकी प्रधानमन्त्री साने ताकाइचीले बुधबार सत्तारूढ दलका वरिष्ठ अधिकारीहरूलाई बलियो जनसमर्थनको फाइदा उठाउँदै मध्यावधि आम चुनाव घोषणा गर्ने आफ्नो योजनाबारे जानकारी दिने तयारी गरेको मिडिया रिपोर्टहरूले जनाएका छन् ।

ताकाइची गत अक्टोबरमा जापानको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त भएको हो । हाल उनको मन्त्रिपरिषद्ले करिब ७० प्रतिशतको उच्च अनुमोदन दर प्राप्त गरेको छ । तर सत्तारूढ गुटसँग संसद्को शक्तिशाली तल्लो सदनमा न्यून बहुमत मात्रै रहेकाले उनको महत्त्वाकांक्षी नीतिगत एजेन्डा अघि बढाउन चुनौती उत्पन्न भएको छ ।

जापानी व्यापार दैनिक निक्केई सिम्बुनले सरकार तथा लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै बुधबारको बैठकमा ताकाइचीले जनवरी २३ मा तल्लो सदन विघटन गर्ने आफ्नो मनसायबारे पार्टीका वरिष्ठ अधिकारीहरूलाई जानकारी गराउने बताएको छ । यस कदमले सत्तारूढ दलको सिट सङ्ख्या बढाउने लक्ष्यसहित आकस्मिक आम चुनावको बाटो खोल्ने जनाइएको छ ।

सार्वजनिक प्रसारणकर्ता एनएचकेले पनि ताकाइचीले आफ्नो योजनाबारे वरिष्ठ अधिकारीहरूसँग छलफल गर्न बैठक समन्वय गरिरहेको जानकारी दिएको छ । टेलिभिजन असाहीका अनुसार एलडिपीका प्रभावशाली नेताहरू र गठबन्धन साझेदार जापान इनोभेसन पार्टीका सदस्यहरूसँगको बैठक बुधबार ढिलो हुने अपेक्षा गरिएको छ ।

सरकारका प्रमुख प्रवक्ता मिनोरु किहाराले यस विषयमा प्रतिक्रिया जनाउन अस्वीकार गर्दै यो ‘प्रधानमन्त्रीले गर्ने निर्णय’ भएको मात्र बताएका छन् ।

यदि ताकाइचीले नियमित संसद् सत्रको सुरुआतको दिन अर्थात जनवरी २३ मा तल्लो सदन विघटन गरे भने आम चुनावको सम्भावित मिति फेब्रुअरी ८ मा हुने विभिन्न जापानी सञ्चारमाध्यमहरूले रिपोर्ट गरेका छन् । संसद् विघटन र चुनावबीचको समय छोटो राखेर आगामी आर्थिक वर्षको बजेट विधेयकमाथि हुने संसदीय बहसमा चुनावको प्रभाव न्यून राख्ने उनको रणनीति रहेको योमियुरी पत्रिकाले जनाएको छ ।

ताकाइचीको मन्त्रिपरिषद्ले अप्रिल २०२६ देखि सुरु हुने वित्तीय वर्षका लागि एक हजार २२३ खर्ब येन (करिब सात खर्ब ६८ अर्ब अमेरिकी डलर) को बजेट स्वीकृत गरिसकेको छ । उनले मुद्रास्फीति नियन्त्रण गर्न र विश्वको चौथो ठूलो अर्थतन्त्रलाई स्थायित्व दिन यो बजेटलाई सकेसम्म चाँडो संसद्बाट पारित गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

ताकाइची अल्पसङ्ख्यक सरकारको प्रमुखका रूपमा निर्वाचित हुँदा पछिल्ला केही वर्षमा जापानको पाँचौँ प्रधानमन्त्री बनेको थियो । उनको नेतृत्वमा एलडिपी र गठबन्धन साझेदार जापान इनोभेसन पार्टीले नोभेम्बरमा तीन सांसद एलडिपीमा सामेल भएपछि तल्लो सदनमा पुनः बहुमत हासिल गरेको हो । यद्यपि माथिल्लो सदनमा सत्तारूढ गुट अझै अल्पसङ्ख्यकमै रहेको छ ।

मिडियाका अनुसार ताकाइचीले ठूलो बहुमत प्राप्त भएमा थप ‘सक्रिय’ वित्तीय खर्चसम्बन्धी आफ्नो एजेन्डा कार्यान्वयन गर्न सजिलो हुने र चीनसँगको कूटनीतिक गतिरोध तोड्न पनि सहयोग पुग्ने अपेक्षा राखेको छ । रासस