प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु


काठमाडौँ, ६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको प्रक्रिया देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा सुरु भएको छ ।

निर्वाचन आयोग सहायक प्रवक्ता कुलबहादुर जिसीलेका अनुसार उम्मेदवारी दर्ताका लागि आज बिहान १०:०० देखि बेलुकी ५ः०० बजेसम्मको निर्वाचन कार्यक्रम यसअघि नै सार्वजनिक गरिसकिएको जानकारी दिए । बेलुकी ५:०० बजेसम्म आएर लाम बस्नेले उम्मेदवारी दर्ता गर्न पाउने पनि उनले सुनाए ।

सबै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । उम्मेदवारी दर्ताका लागि नागरिकता वा मतदाता परिचयत्र पत्रसहित १३ प्रकारका कागजात साथमा लिएर आउन आयोगले यसअघि नै आह्वान गरिसकेको छ । आज बेलुकी ५:०० देखि ७:०० बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम रहेको पनि उनले सुनाए ।

माघ ६ गते बिहान १०:०० देखि दिउँसो ३ :०० बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । माघ ७ गते दिउँसो ३ :०० बजेदेखि माघ ८ गते बेलुका ५ः०० बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ः०० देखि ७ : ०० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १०ः०० देखि दिउँसो १:०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

माघ ९ गते दिउँसो १ :०० देखि ३ ;०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ : ०० देखि साँझ ७ :०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ । रासस