स्थानीय तहबाट राजीनामा दिँदै प्रतिनिधिसभाको उम्मेदवार


काठमाडौँ, ६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै स्थानीय तहका कतिपय जनप्रतिनिधिहरू धमाधम पदबाट राजीनामा दिँदै उम्मेदवारी दर्तामा जुटेका छन् ।

महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरू प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराइरहेका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराएका छनज् ।

दमक नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी उनले मनोनयन दर्ता गराएका हुन् । विसं २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँको प्रमुख निर्वाचित शाह अहिले प्रधानमन्त्रीको आकाङ्क्षा राख्दै राजनीतिमा प्रवेश गरेका हुन् । यही क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमालें) का अध्यक्ष केपी शर्मा ओली पनि उम्मेदवार रहेकाले सो निर्वाचन क्षेत्रलाई चासोका साथ हेरिएको छ ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पनि पदबाट राजीनामा दिँदै चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेकी छिन् । दुई कार्यकाल भरतपुरको नेतृत्व गरिसकेको दाहाललाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पनि पदबाट राजीनामा दिँदै सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन् । विसं २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका उनी श्रम संस्कृति पार्टीका अध्यक्षसमेत हुन् । आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै आएका साम्पाङसँग धरान उपमहानगरपालिका– १७ का वडाध्यक्ष पदबाट राजीनामा दिँदै मनोज भट्टराईले प्रतिस्पर्धा गर्दै छन् । विसं २०७४ र २०७९ का स्थानीय तहको निर्वाचनमा लगातार दुईपटक वडाध्यक्ष निर्वाचित भएका भट्टराई नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट उम्मेदवार बनेका हुन् ।

यसरी स्थानीय तहका प्रमुख मात्र होइन, वडाध्यक्ष र वडा सदस्यहरू पनि प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुँदैछन् ।

वीरगञ्ज महानगरपालिका–१० का अध्यक्ष सुशील साह कानु र वडा नं २० का अध्यक्ष रामकिशोर (पराग) सिंह प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । कानु राष्ट्रिय स्वतन्त्र पार्टीबाट पर्सा क्षेत्र नं २ मा उम्मेदवार बनेका छन् भने सिंह उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका छन् ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा पनि दोस्रो कार्यकाल पूरा नगर्दै स्याङ्जा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । उनलाई नेकपा एमालेले उम्मेदवार बनाएको हो । त्यसैगरी ओखलढुङ्गाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापा पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छन् । थापालाई एमालेका तर्फबाट उम्मेदवार बनेकी हुन् ।

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका प्रमुख असिम राईले पनि पदबाट राजीनामा दिँदै नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट सोलुखुम्बुको प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै स्थानीय तहको नेतृत्वमा छोटो समय काम गरेका जनप्रतिनिधिहरू सङ्घीय संसद्मार्फत सिधै सिंहदरबार पुग्ने लक्ष्यसहित प्रतिनिधिसभा निर्वाचनमा होमिएका हुन् । यसले आगामी निर्वाचनलाई थप प्रतिस्पर्धात्मक र चासोपूर्ण बनाएको छ । रासस