स्रष्टाको कल्पना–शक्ति फूलको सुगन्ध हो भने सजीवता मग्मगाउने फूल हो : कुमार काफ्ले


साहित्य–वार्ता :

माता/पिताः गोमादेवी/रुद्र काफ्ले
जन्मस्थानः यसम, ओखलढुङ्गा
अध्ययनः राजनीतिशास्त्र र शिक्षा योजना तथा व्यवस्थापनमा स्नातकोत्तर, दर्शनाचार्य अध्ययनरत
प्रथम प्रकाशित रचनाः कलम शीर्षकको कविता (मध्याह्न राष्ट्रिय दैनिक, २०५९)
प्रकाशित कृतिः हजार सपना (उपन्यास, २०७२), सपना कतिपय (लघुकथासङ्ग्रह, २०८१), सुन्दर सपना (बालकथासङ्ग्रह, २०८१)
प्रकाशनोन्मुख कृतिः कथासङ्ग्रह, नियात्रा

यहाँको साहित्य लेखन कहिलेबाट सुरू भयो ?
राति सुत्नुअघि मेरी आमाले मलाई दन्त्यकथाहरू सुनाउनुहुन्थ्यो । गोठालो जाँदा बूढापाका गोठालाले लोककथा र किस्साहरू सुनाउनुहुन्थ्यो । छ, सात कक्षा पढ्दादेखि नै मधुमालतीको कथा, लालहीराको कथा, स्वस्थानी व्रतकथा, महाभारत, रामायण आदि पुस्तक÷ग्रन्थहरू पढ्ने अवसर मिल्यो । ती कृतिहरू मैले दर्जनौंपटक पढेको छु । पाठ्यपुस्तकमा भएका कथा, कविता पढ्दा आनन्द आउँथ्यो । उच्च शिक्षा पढ्न राजधानी आएपछि पत्रपत्रिकामा साहित्यिक रचना पढ्न थालियो । पत्रपत्रिकामा आफ्नो नाम छापियोस् भन्ने लोभ लाग्दथ्यो । त्यसैले बेलाबेलामा लेखेका कविता र लघुकथाहरू मैले वि.सं. २०५९÷६० देखि विभिन्न पत्रपत्रिकामा पठाउन थालेँ । पत्रिकामा आफ्नो नाम र रचना देख्दा मक्ख परिन्थ्यो ।
कसबाट र कसरी प्रभावित हुनुभयो ?
ठ्याक्कै यही व्यक्तिबाट प्रभावित भन्ने त छैन । तथापि बालापनदेखि नै पढेका स्रष्टा महान् हुन् भन्ने लाग्दथ्यो । लेखेर के हुन्छ ? त्यो पनि थाहा थिएन । कसलाई पठाउने, कसरी छापिन्छ ? केही ज्ञान थिएन र पनि पढ्ने, लेख्ने कर्म निरन्तर जारी रह्यो । सानै उमेरमा सुनेका दन्त्यकथा, लोककथा, किस्सा, कहानी अनि पढेका धार्मिक ग्रन्थ र विद्यालयका पाठ्यपुस्तकमा भएका कथा, कविताले थाहै नपाइ साहित्यप्रति रुचि जगायो । आमाले राति सुत्नेबेलामा सुनाएका सुनिरहुँ लाग्ने रमाइला कथा अनि कहानीले सधैँ आकर्षित गरिरह्यो । अहिले पनि म आमालाई भेट्दा कथा सुनाउन अनुरोध गर्दछु । ती कथा अहिले पनि मलाई खुबै मन पर्छन् । त्यस्ता अलौकिक कथामध्ये कति त आमाले पनि अरूबाट सुन्नुभएको होला ! कति आफैँले थपथाप गरेर हामीलाई सुनाउनुभयो होला ! यसरी म नजानिँदो रूपमा सबैभन्दा बढी मेरी आमाबाट प्रभावित भएँजस्तो लाग्छ ।
कसरी बढिरहेको छ त लेखन गतिविधि ?
अहिले लेखनभन्दा पनि अध्ययनमा समय दिइराखेको छु । तथापि इलाममा दुई वर्ष बिताउँदा त्यहाँ विभिन्न मनोरम स्थानमा घुमफिर गर्ने मौका मिल्यो, त्यही घुमफिर गर्दाको अनुभूति समेटेर लेखेको यात्रा–संस्मरणलाई अन्तिम रूप दिने तयारीमा छु । एउटा परालौकिक कथासङ्ग्रह र केही अन्य कथालाई सम्पादन गरिरहेको छु भने यदाकदा लघुकथा र गीत पनि लेखिरहेको छु ।
वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?
विश्वभर विभिन्न विषय र विधामा साहित्य सिर्जना भइरहेको छ । कोही स्वच्छन्द भएर त कोही विभिन्न वाद र विचारमा रहेर सर्जकहरूले साहित्य सिर्जना गरिरहेका छन् । साहित्यमा स्वैर–काल्पनिक, जादुयी यथार्थ तथा नवीन प्रयोग भइरहेका छन् । कृतिहरू प्रकाशन भइरहेका छन् । सङ्ख्यात्मक रूपमा मात्रै होइन– गुणात्मक रूपमा समेत साहित्यले फड्को मारेको छ । यसमा असन्तुष्ट हुनुपर्ने केही छैन ।
कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?
भर्खरै त त्यस्तो कुनै तयारी छैन । तयार भइसकेका पाण्डुलिपिलाई अन्तिम रूप दिने सोचमा छु । मेरो अनुभवले के भन्छ भने, हतारमा कृति प्रकाशन गर्दा त्यसमा धेरै कमजोरी हुन्छ । त्यसो गर्नुभन्दा पाण्डुलिपिमै पटक÷पटक सम्पादन गर्न सके राम्रो कृति तयार हुन सक्छ ।
साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
साहित्य र स्रष्टाप्रति राष्ट्रको जिम्मेवारी त रहन्छ नै– तथापि सर्जकको पनि राष्ट्र र विश्वप्रति कर्तव्य हुनुपर्दछ । हामीले टेकेको धरती, पर्यावरण, हावापानी र प्राणी–जगत्प्रति पनि जिम्मेवार रहनुपर्छ । राष्ट्र त सबैको अभिभावक हो तसर्थ साहित्य र स्रष्टाप्रति राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ । कला, साहित्य र भाषाको उन्नयनका लागि सबै लागि पर्नुपर्छ ।
तपाईंको साहित्यिक आदर्श के हो ?
साहित्य स्वच्छन्द हुनुपर्छ । समाज र श्रमजीवी–वर्गको आवाज कलात्मक शैलीमा बुलन्द गरेर लेखिने साहित्य मेरो आदर्श हो । यसो भन्दैमा सदैव त्यस्तो त हुँदैन । कहिलेकाहीँ मनोरञ्जनात्मक किसिमका, प्रेमिल रचना पनि सिर्जना गरिन्छ । तथापि सामान्य विषयलाई विशिष्ट र गहन विषयलाई पनि सरल तरिकाले कलात्मक प्रस्तुति गर्न खोज्ने मेरो ध्येय हुन्छ ।
वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?
यसबारेमा विभिन्न दृष्टिकोणबाट विमर्श गर्न सकिन्छ । साहित्य स्वच्छन्द हुनुपर्छ भन्ने मतबाट कुरा गर्दा सर्जकले जे अनुभूति गर्छ र जे लेख्नुपर्छ भन्ने लाग्छ– त्यो लेख्नु उसको दायित्व हुन आउँछ । होइन साहित्यले समाज र दुनिँयालाई अग्रगतितर्फ डोर्याउनुपर्छ भन्ने मतबाट विचार गर्दा सामाजिक हित र भलाइका खातिर साहित्य सिर्जना गरिनुपर्छ भन्ने हुन्छ । यी दुवै किसिमका र हाम्रो समझभन्दा बाहिरका विषयमा फरक÷फरक कोणबाट समेत स्रष्टाले आफ्नो लेखकीय दायित्व निर्वाह गरिरहेका छन् । कतिपय कुरा बाहिर आउँछन्, आइरहेका छन् । सबै सर्जक, सिर्जना, सत्य र यथार्थ पत्रपत्रिका, अनलाइन वा बाहिर आउँदैनन्; आइपुग्दैनन् । यो धर्तीमा तपाईंहामीले थाहा पाएका कुराभन्दा थाहा नपाएका कुरा धेरै छन् । तसर्थ थाहा नपाएका कुराको चर्चा होइन– खोजी गर्नुपर्छ ।
तपाईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?
कृति प्रकाशन भइसकेपछि ती पाठकका सम्पत्ति हुन्छन् भनिन्छ । मेरा प्रकाशित कृति प्रकाशन भएको बखत म सन्तुष्ट नै थिएँ । प्रायः सर्जकलाई कुनै सिर्जना लेखिसक्दा निकै राम्रो लेखेको अनुभूति हुन्छ । मलाई पनि त्यस्तै हुन्छ । मेरा कृतिलाई अहिले फर्केर हेर्दा तिनमा सुधार गर्न सकिने, सम्पादन गर्ने थुप्रै ठाउँ देख्छु । यसमा बदलिरहने विचार, दृष्टिकोण र अनुभवले पनि धेरथोर काम गर्दछ होला । कुनै पनि कृतिमा तत्कालीन केही न केही प्रतिविम्ब त झल्केको हुन्छ नै तसर्थ म आफ्ना कृतिबाट सन्तुष्ट छु ।
साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
साठीको दशकअघि कुनै सर्जकलाई आफ्ना रचना प्रकाशन गर्न अहिलेजस्तो गर्न सहजता थिएन । अहिले त राम्रो लेख्न सक्नुपर्छ, सर्जकलाई प्रकाशन र प्रचारप्रसारको कुनै समस्या छैन । मुख्य कुरा कालजयी सिर्जना रच्न सकिन्छ कि सकिन्न भन्ने नै हो । त्यस्ता साहित्य हिजो पनि लेखिएका थिए र अहिले पनि लेखिइरहेका छन् । हिजोका दिनमा सङ्ख्यात्मक रूपमा साहित्य सिर्जना कम भए पनि गुणस्तरीय थियो । आज सङ्ख्यात्मक रूपमा सर्जक र सिर्जना बढेका छन् । पठनीय र आफ्नो रुचिका विषय तथा क्षेत्रका सिर्जना खोजी गरेर अध्ययन गर्न सहज भएको छ ।
तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
साहित्य मैले, तपाईंले वा अरु कुनैले यस्तो लेखिनुपर्छ भन्ने कुराको म विरोधी हुँ । साहित्यको कुनै सीमा हुनुहुँदैन । जीवन र जगत्को कलात्मक अभिव्यक्ति होस् या सारा सृष्टि वा ब्रह्माण्डको काल्पनिक प्रस्तुति किन नहोस्– ती सबै साहित्यमा आउनुपर्छ । कुनै पनि विषय वा अभिव्यक्ति सौन्दर्यपूर्ण तवरले गरिन्छ भने त्यो साहित्य पठनीय हुन्छ । साहित्यले मानिसलाई आनन्द दिलाओस्, एकछिन भए पनि छुट्टै संसारमा विचरण गराओस् तर कसैको जिन्दगीमा आघात नपु¥याओस्, समाजलाई गलत बाटोमा हिँडाउन नखोजोस् अनि हाम्रो पर्यावरण नबिगारोस् । साहित्यको ध्येय न्याय, सामाजिक परिवर्तन, विचार, कल्पना र दृष्टिकोणलाई नवीनता प्रदान गर्नु हो ।
लेखनप्रति केले प्रेरणा दिन्छ जस्तो लाग्छ ?
सुरू/सुरूमा किन लेखियो त्यसको पत्तै भएन । पछिपछि त लत लागेछ ! नपढिकन अनि नलेखिकन बस्नै नसकिने भइयो । के नपुगेजस्तो हुन थाल्यो । म पुस्तकलाई अगाध प्रेम गर्छु । आफ्नै सन्तुष्टि र आनन्दका लागि पनि लेख्छु, समाजप्रतिको दायित्वबोध गरेर पनि लेख्छु, त्यत्तिकै पनि लेख्छु । मेरो लेखनको प्रेरणा मेरो अन्तरआत्माको आवाज हो, म बाँचेको परिवेश हो ।
तपाईंको लेख्ने निश्चित समय छ कि ?
विषयवस्तुले घच्घच्याएको बेला मथिङ्गल रिङ्ग्याइदिन्छ । मनमष्तिष्कमा उठेका उत्ताल तरङ्ग शान्त पार्न म जुनसुकै बेला पनि लेख्छु । तथापि मेरो प्रिय स्थान र समय भनेको प्रकृतिको काखमा रहेको एकान्त बन्द कोठा अनि चकमन्न रात हो । बाहिरी वातावरणले त्यति प्रभाव नपारे पनि म एक्लै भएको बेला लेख्ने गर्दछु । साथीहरू भएको बेला गफिन मन पराउँछु, जात्रा मेलामा त्यहाँको संस्कार र संस्कृतिमा भुल्छु । अधिकांश समय समाज, संस्कृति र साहित्यको अध्ययन तथा अध्यापनमा बित्दछ ।
तपाईँ गीत, कविता पनि लेख्नुहुन्छ, पछिल्लो समय भने आख्यानमा बढी देखिनुहुन्छ । तपाईंलाई काव्यले भन्दा आख्यानले तानेको हो ?
काव्य मेरो पनि प्रिय विधा हो । बेला/बेलामा गीत र कविता पनि लेख्छु तर सन्तुष्ट हुन सक्दिनँ । आख्यानमा भने खुलेर लेख्न सक्ने भएकोले कथा, लघुकथा र उपन्यासमा रम्न रमाउन थालेको छु । पढ्ने कुरामा भने म आख्यान र गैर आख्यान दुवै उत्तिकै पढ्ने गर्दछु । मेरो प्रवृत्ति, भाषा र क्षमताका कारण काव्य विधाभन्दा आख्यान वा गैर आख्यानतर्फ रुचि बढेको हो ।
लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
म बाँचिरहेको समाज अनि भोगिरहेको जिन्दगी र कल्पना गरेको दुनियाँ नै मेरो लेखनका सामल हुन् । यो जीवन, जगत् र सृष्टिलाई हेर्ने फरक दृष्टिकोण एवम् अनुभूति गर्ने हृदयले विषयवस्तु महशुस गर्छ र त्यसैलाई म कहिलेकसो लेख्ने जमर्को गर्दछु । वरिपरिको वातावरणको हालत नियालेर, आफ्नो जिन्दगीमा भोगेर, अरूको जिन्दगीमा देखेर, कल्पनाको संसारमा उडान भरेर, हृदयमा कुनै विषयवस्तुको झिल्का÷ज्योति बलेको विषयमा लेख्ने गर्दछु ।
सफल स्रष्टाका आवश्यक गुण के/के हुन् ?
अध्ययन, अभ्यास र निरन्तरता सफल स्रष्टामा हुनैपर्ने गुणहरू हुन् । प्रतिभावान् व्यक्तिले पनि साधना गरेन भने त्यसबाट जे÷जस्तो सिर्जना आउनुपर्ने हो– सो आउन सक्दैन ।
साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?
आख्यानका पाठक बढी भएजस्तो लागे पनि गैर आख्यानका पाठक पनि प्रशस्त छन् । यसबारेमा मैले यति ध्यान दिएको छैन । राम्रो कृति प्रकाशन भयो भने त्यो जुनसुकै विधाको भए पनि त्यसले पाठक पाउँछ । विदेशमा पनि नेपाली कृति मगाएर पढ्ने पाठक तथा सर्जक धेरै छन् ।
सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?
यसमा सर्जक र पाठकको आआफ्नो रुचि अनि राय हुन सक्दछ । सृजनामा सजीवता र काल्पनिकता दुवैको मेल हुनुपर्दछ भन्नेमा दुईमत नहोला ! कुनको मात्रा बढी हुनुपर्ला भन्ने कुरा अध्ययन, अनुभूति र अनुभवले पनि फरक पार्दछ । पाठकले थाहा नपाएको कुरा यथार्थ नै भए पनि त्यो उसलाई काल्पनिक लाग्न सक्दछ । काल्पनिक कुरा पनि कतै त्यो यथार्थ हुन सक्ने भएकाले यसबारे तर्क गर्नु निरर्थक छ । सिर्जनामा काल्पनिकता फूलको सुगन्ध हो भने सजीवता मग्मगाउने फूल हो । सुगन्धबिनाको फूलको महत्त्व कम हुन्छ भने फूलबिनाको सुगन्ध कृत्रिम हुन पुग्दछ ।
लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?
यो सापेक्ष विषय भयो । कतिपय अवस्थामा स्वान्तःसुखायका लागि लेखिन्छ भने कतिपय बेला अब नलेखी हुन्न भनेर पनि लेखिन्छ । कहिलेकाँही आवाजविहीनहरूको आवाज बन्न लेखूँ जस्तो लाग्छ भने कहिले कुनै विषय वा प्रसङ्गले चिमोटेपछि लेखिन्छ । साहित्यलाई समाजको प्रतिविम्बन भन्ने गरिन्छ तर त्यतिले मात्रै पुग्दैन । सर्जकको सोच, कल्पना अनि साहित्य वर्तमान समाजसँगसँगै र त्योभन्दा पनि अघि बढ्नुपर्ने हुन्छ ।
किन कोही स्रष्टा दलको झण्डामुनि ओत लाग्ने रहर गर्छन् ?
साहित्य र राजनीतिको सम्बन्ध जटिल हुन्छ । तर, राजनीतिभन्दा साहित्य सदैव उन्नत र शास्वत हुन्छ । कुनै पनि स्रष्टाले आफ्नो वाद, विचार वा दृष्टिकोण आफ्नो रचनामा अवश्य मिसाउँछन्– यसमा विरोध वा गुनासो गर्नुपर्ने केही छैन । रह्यो कुरा स्रष्टा राजनीतिक दलको झण्डामुनि ओत लाग्ने कुरा, यसमा पनि उसको व्यक्तिगत स्वतन्त्रताको कुरा हो । दलमा आबद्ध भए पनि उसको राजनीतिक र साहित्यिक जीवन फरक हुन सक्छ । बीपी कोइराला नै यसको ज्वलन्त उदाहरण हुनुहुन्छ । उहाँले दुवै क्षेत्रमा योगदान दिनुभएको छ । यो व्यक्तिविशेषको रुचि र क्षमताको कुरा हो । तथापि राजनीति अस्थिर र परिवर्तनशील हुन्छ भने साहित्य जीवन्त हुन्छ । विश्व साहित्यका गोर्की, टोल्सटोय, चेखब र नेपालकै लेखनाथ, देवकोटा आदि हेर्नुस् न !
नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?
अब त लेखनमा नयाँ–पुराना र मोफसल–फसल भन्ने भेद हराउँदै गएको जस्तो लाग्छ । जसले जहाँ बसेर पनि प्रभावकारी अर्थात् पठनीय सिर्जना गर्न सक्दछ । पुरानाले रचेको आहा ! र नयाँले रचेको थैट ! भन्ने हुन्न । नयाँ वा पुराना सबैले लेखनमा मेहनत गर्नुपर्दछ । अध्ययन, अभ्यास र साधना हरकोहीले गर्नुपर्दछ । यसको विकल्प छैन ।