रास्वपा र प्रधानमन्त्रीविरुद्ध किन एकैचोटि खनिए वर्षमान पुन ? ‘रास्वपा विचारविहीनहरूको चौतारी’


ललितपुर, १६ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन “अनन्त” ले नयाँ दलको दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विचारविहीनहरुको चौतारीजस्तो भएको टिप्पणी गरेका छन् । पार्टीको ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को चुनाव परिचालन तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै पुनले रास्वपा पार्टी नभई स्पष्ट विचार, दर्शन, राजनीति, एजेण्डा र इतिहास नभएकाहरुको समूह भएको बताए ।

‘पार्टी बन्न विचार, दर्शन, राजनीति, एजेण्ड संगठन र इतिहास चाहिन्छ । विचार के हो थाहा छैन, नीति के हो त्यो पनि थाहा छैन । इतिहास के हो त्यो पनि थाहा छैन । कोही कताबाट, कोही कताबाट आएको छ । चौतारीमा भेटेर एक ठाउँ जम्मा भएको छ । नयाँ पार्टी भनेको छ’, पुनले भने ।

गत ०७९ को निर्वाचनमा पुराना दलसँग रिसाएका सहरी मतदाताले जिताएका ठाउँमा यसपटक रास्वपाको प्रभाव कमजोर देखिएको दाबी पुनले गरे । यसअघि रास्वपाले जितेका काठमाण्डूका २, ६, ७ र ८ नम्बर निर्वाचन क्षेत्रमा रास्वपाप्रतिको लहर घटेबाट मतदाताले संगठन र विचार भएका राजनीतिक दललाई जिताउनुपर्ने महसुस गरेको बुझ्न सकिने तर्क गरे । ती क्षेत्रमा रास्वपाका उम्मेदवारले हार्ने दाबी पनि पुनको थियो ।

सक्नेले गर्ने भन्ने रास्वपाको आर्थिक नीति पनि मुलुक सुहाँदो नभएको आरोप उनले लगाए । शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवा सक्नेले किन्ने, नसक्नेले हेरेर बस्ने भन्ने उदारवादी अर्थनीतिको पक्षमा रास्वपा रहेको बताए ।

सक्नेले शिक्षा किन्ने, सक्नेले स्वास्थ्य र सेवा किन्ने वा सबै सक्नेले मात्र गर्ने वा सबै बजारलाई छाडिदिने भन्ने अर्थनीति सही होइन । नसक्नेलाई राज्यले हेर्नुपर्छ । त्यसैले हामीले समाजवादी अर्थनीतिको वकालत गरेका छौं । राज्यले अभिभावकीय भूमिका खेल्ने अवस्थालाई हामीले समाजवाद भनेका हौं,’ पुनले भने, ‘नसक्नेलाई राज्यले हुर्नुपर्छ भन्ने समाजवाद हो । गरिब छ, सीमान्तकृत छ, अपांग छ, जसको पहुँच राज्यमा छैन । उनीहरुलाई राज्यले हेर्नुपर्छ ।’ सामाजिक सञ्जालमार्फत पुराना दल र नेताहरुको हुर्मत लिएर उदाएको रास्वपाको भविष्य लामो नभएको दाबी गरे ।

फरक प्रसंगमा पुनले ५ दिनमा भ्रष्टाचार निर्मुल गर्छु भन्ने प्रधानमन्त्री सुशीला कार्कीले सरकार बनेको ५ महिनासम्म पनि केही नगरेको आरोप लगाए । आफूसँग दुई तिहाई रहेको दम्भमा भ्रष्टाचारीको संरक्षण र बिचौलिया पालनपोषण गर्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीको प्रवृत्तिका कारण मुलुक अप्ठ्यारो अवस्थामा पुगेको पुनले बताए ।