रुपन्देही-५ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार केशव भट्टराई चुनावी अभियानमा सक्रिय


रुपन्देही, २२ माघ । । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही निर्वाचन क्षेत्र नम्बर–५ बाट उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका युवा कानुन व्यवसायी, शैक्षिक व्यक्तित्व तथा सामाजिक अभियन्ता केशव भट्टराई चुनावी अभियानमा सक्रिय देखिएका छन्।

उम्मेदवारी दर्ता पछि भट्टराई हाल घरदैलो कार्यक्रम, मतदाता भेटघाट तथा विभिन्न समुदायसँग प्रत्यक्ष संवादमा व्यस्त छन्। यस क्रममा उनले स्थानीय जनताको दैनिकीसँग जोडिएका समस्या, आवश्यकता र अपेक्षाहरू नजिकबाट बुझ्दै ती समस्यालाई नीति निर्माण र संसदको तहसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।

उज्यालो नेपाल पार्टीका उम्मेदवार भट्टराईले विधि शासन, सुशासन, जवाफदेही राजनीति र युवाको अर्थपूर्ण सहभागितालाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। संसदलाई केवल शक्ति प्रदर्शनको थलो नभई जनताको समस्याको समाधान खोज्ने जिम्मेवार संस्थागत मञ्चका रूपमा विकास गर्नुपर्ने उनको धारणा छ।

“देश विभिन्न पुस्तामा विभाजित भइरहेका बेला सबै पुस्तालाई एकताबद्ध नगरी विकास र समृद्धि सम्भव हुँदैन,” भट्टराईले भने, “अनुभव र जोशको संगममार्फत Gen X, Y र Z सबैको अस्तित्व स्वीकार्ने समावेशी राजनीतिक अभ्यास आजको आवश्यकता हो।”

कानुन व्यवसाय र शिक्षण क्षेत्रमा लामो समयदेखि सक्रिय भट्टराई कक्षाकोठामा विद्यार्थीलाई ‘देशमै सम्भावना छ, देशमै केही गर्नुपर्छ’ भन्ने आत्मविश्वास जगाउँदै आएका व्यक्तित्वका रूपमा परिचित छन्। उनले रुपन्देही-५ लाई समावेशी विकास, रोजगारी, शिक्षा, कृषि र प्रभावकारी सार्वजनिक सेवाको दृष्टिले उदाहरणीय क्षेत्र बनाउने लक्ष्य लिएको बताएका छन्।

उनका अनुसार कृषकका समस्या, सीमा क्षेत्रका चुनौती, युवाको रोजगारी, शिक्षा तथा सार्वजनिक सेवा सुधार उनका प्राथमिक मुद्दा रहनेछन्। साथै जनप्रतिनिधि बनेपछि नियमित रूपमा मतदातासँग प्रत्यक्ष संवाद गर्दै जवाफदेहिता कायम गर्ने प्रतिबद्धतासमेत उनले दोहोर्‍याएका छन्।

स्थानीय बुद्धिजीवी, युवा र नागरिक समाजका प्रतिनिधिहरूले उज्यालो नेपाल पार्टीबाट भट्टराईको उम्मेदवारीलाई नयाँ सोच, पुस्ताबीचको सहकार्य र वैकल्पिक राजनीतिक अभ्यासतर्फको सकारात्मक संकेतका रूपमा लिएका छन्। उनीहरूले रुपन्देही- ५ ले सबै पुस्ताको प्रतिनिधित्व गर्न सक्ने एक कुशल शैक्षिक र बौद्धिक व्यक्तित्व पाउने अवसर पाएको प्रतिक्रिया दिएका छन्।

रुपन्देही-५ मा यसपटकको निर्वाचनलाई युवामुखी नेतृत्व, स्पष्ट दृष्टिकोण र परिणाममुखी राजनीतिक अभ्यासको महत्वपूर्ण परीक्षा का रूपमा हेरिएको छ।