विगतमा पार्टी नेतृत्वले ऐतिहासिक अवसर गुमाउँदा देश सङ्कटको भुमरीमा : जनार्दन शर्मा


काठमाडौं, फागुन १ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक जनार्दन शर्माले विगतमा पार्टी नेतृत्वले ऐतिहासिक अवसर गुमाउँदा देश सङ्कटको भुमरीमा पुगेको बताएका छन् । ३१ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले २१ औँ शताब्दीको उथलपुथलकारी आन्दोलनको उद्देश्य सुशासन, समृद्धि र समानता रहे पनि त्यो पूरा हुन नसकेको बताएका छन् ।

उनले लेखेका छन्–’नेपाली समाजको युगान्तकारी विद्रोह महान जनयुद्व , सामन्तवादको अन्त्य, समावेशी संघीय गणतन्त्रको स्थापनाको जग हाल्दै सात राजनीतिक दल समेतको सहभागितामा दोस्रो जन आन्दोलन, संविधान सभा हुदै नयाँ संविधान मार्फत प्राप्त उपलब्धि सहित महान जनयुद्वको आज ३१औ वर्षगाठको अवसरमा छौ । यस महान प्रकृयामा वलिदान गर्ने वीर सहिदहरुप्रति हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दछु , वेपत्ता योद्वा , घाइते योद्वाहरुमा उच्च सम्मान व्यक्त गर्दछु । २१ शौ सतावदीको उथलपुथलकारी आन्दोलनको उदेश्य सुशासन , समृद्वी र समानता थियो तर त्यसप्रति पार्टि र नेतृत्वले ऐतिहासिक अवसर गुमाउदा देश आज सङ्कटको भूमरीमा छ । संविधान र राष्ट्रको रक्षा गर्दै नव युवाको अपेक्षा पुरा गर्ने चुनौती एकसाथ देखिएको छ । २१ फागुनको निर्वाचन सफलता पुर्वक सम्पन्न गरी नेपाली राजनीतिलाई जन अपेक्षा अनुसार अगाडी बढाउन जनताको हातमा छ ।’

निर्वाचन आयोगले फागुन २१ गते तय गरेको प्रतिनिधिसभा निर्वाचनका लागि शर्मा रुकुम पश्चिमबाट प्रत्यक्षतर्फको चुनावमा आँखा चिह्न लिएर मैदानमा होमिएका छन् । माओवादी छाडेर नयाँ पार्टी बनाएका शर्माको निर्वाचन क्षेत्र रुकुम पश्चिममा १२ जना उम्मेदवार रहेका छन् ।