ललितपुर१ फागुन । ललितपुरको गोदावरी नगरपालिका कार्यपालिका सदस्य बिना नगरकोटीसहित नेपाल कम्युनिस्ट पार्टीका विभिन्न तहका नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
गोदावरी नगरपालिका वडा नम्बर २ विशंखुनारायणमा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई कांग्रेसका तर्फबाट ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार उदयशमशेर राणाले माला र टीका लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरूमा दलित वडा सदस्य उम्मेदवार निता बिसुङ्खे,विशंखु नारायण खानेपानीका अध्यक्ष राजन विष्ट र स्थानीय समाजसेवी दिनेश विष्ट रहेका छन् ।
नवप्रवेशीहरूलाई स्वागत गर्दै उम्मेदवार उदयशमशेर राणाले गोदावरीका विभिन्न वडाहरूबाट जनप्रतिनिधि र स्थापित नेताहरू नै कांग्रेसमा आएकाले आफ्नो जित सुनिश्चित भइसकेको दाबी गरे ।
कार्यक्रममा बागमती प्रदेशका सांसद मीनकृष्ण महर्जनले देशैभरि कांग्रेस प्रवेशको लहर चलेकाले कांग्रेसलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने धारणा व्यक्त गरे ।
पार्टी प्रवेश गर्ने अधिकांश युवाहरूले कांग्रेसभित्र देखिएको नेतृत्व परिवर्तन र सुशासनप्रतिको प्रतिबद्धताबाट प्रभावित भएर आफूहरू समाहित भएको बताएका छन् ।
निर्वाचनको मुखमा गोदावरी क्षेत्रका स्थापित युवा शक्ति र जनप्रतिनिधिहरू कांग्रेसमा ध्रुवीकृत भएसँगै यस क्षेत्रमा कांग्रेसको चुनावी पल्ला भारी भएको राजनीतिक विश्लेषण गरिएको छ।




प्रतिक्रिया