राष्ट्रियसभा १९औँ अधिवेशनमा महत्त्वपूर्ण काम गर्न सफल भयौँ : अध्यक्ष दाहाल


काठमाडौँ, १ फागुन । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जेनजी आन्दोलनपछिको विषमपूर्ण राजनीतिक परिस्थिति र छोटो समयका बाबजुद पनि १९औँ अधिवेशनले महत्त्वपूर्ण काम गर्न सफल भएको बताएका छन् ।

आज बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष दाहालले यो अधिवेशन समयका हिसाबले निकै छोटो तर कामका हिसाबले महत्त्वपूर्ण र भविष्यमा पनि गर्व गर्न लायक रहेको बताए ।

राष्ट्रियसभाको १९औँ अधिवेशनको पहिलो बैठक गत माघ ४ गते बसेको थियो । जम्मा २७ दिन चालु रहेको यो अधिवेशनमा नौवटा बैठक बसी १७ घण्टा २५ मिनेट समयसभाका काममा व्यतित गरेको अध्यक्ष दाहालले बताए ।

यो अधिवेशनमा सात वटा बैठकका शून्य समयमा २९ जना सदस्यले ४८ मिनेट र तीन वटा बैठकका विशेष समयमा १५ जना सदस्यले तीन घण्टा ३९ मिनेट समय उपयोग गरेको उनले बताए । यो अधिवेशनमा एउटा बैठकमा प्रादेशिक सरोकार समय रहेको थियो ।

अध्यक्ष दाहालका अनुसार यो अवधिवेशनमा ‘अभौतिक प्राकृतिक सम्पदा संरक्षण विधेयक २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ भने पर्यटन विधेयक २०८१, चलचित्र विधेयक २०८१ र राष्ट्रिय विधिविज्ञान प्रयोगशाला स्थापना, सञ्चालन विधेयक २०८१ लाई पारित गरी प्रतिनिधिसभामा पठाइएको छ । यसबीचमा सरकारले सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता लिएको छ ।

त्यस्तै, मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश २०८२, प्रतिनिधिसभा सदश्य निर्वाचन पहिलो संशोधन अध्यादेश २०८२ र नेपाल विशेष सभा ऐन दोस्रो संशोधन अध्यादेश सभामा पेस भई सर्वसम्मत स्वीकृत भइसकेको छ ।

सरकारलाई संसद्प्रति जवाफदेही बनाउन कानुन, न्याय तथा संसदीय मामिला, सङ्घीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रम सञ्चालन भएको उनले जानकारी दिए ।

यसबीचमा गण्डकी प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरू नारायणकाजी श्रेष्ठ, भगवती न्यौपाने र राष्ट्रपतिबाट मनोनित वामदेव गौतमले लिखित राजिनामा गरेको तथा सुदूरपश्चिमबाट निर्वाचित बलदेव बोहराको निधन भएको जानकारी पनि अध्यक्ष दाहालले बताए ।

समयका हिसाबले छोटो समय चले पनि ऐतिहासिक रूपमा काम गर्न सकेको बताए । राजनीतिक अन्योलताका बीच महत्वपूर्ण काम गर्न सकिएको उनले उल्लेख गरे ।

आजको बैठकमा दलीय आधारमा बोल्ने क्रममा सांसदहरूले यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष हुनुपर्ने धारणा राखेका छन् । सुरक्षा संयन्त्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्न पनि सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

दलीय रूपमा आफ्नो धारणा राख्नेक्रममा डा वेदुराम भुसालले राष्ट्रियसभाको चालु अधिवेशनमा तीन विधेयक पारित, तीन अध्यादेश स्वीकृत र एउटा विधेयक छलफलका लागि समितिमा पठाइएको बताए । चार वटा अध्ययन प्रतिवेदन प्रस्तुत भएको र तीमध्ये तीन वटामा राष्ट्रियसभामा छलफल भएको जानकारी दिए । यही फागुन २१ गतेका लागि तय भएको चुनाव कस्तो वातावरणमा हुँदैछ भन्ने प्रश्न उठिरहेको बताए । निष्पक्ष र भयमुक्त वातावरणमा चुनाव हुन्छ वा हुँदैन ? भनेर प्रश्न उठिरहेको बताए । सरकार यसमा गम्भीर हुन पनि उनले सदनमार्फत ध्यानाकर्षण गराए ।

सांसद कृष्णबहादुर रोकायले राष्ट्रियसभाको चालु अधिवेशनमा नौ वटा बैठक बसेको र महत्त्वपूर्ण काम गर्न सकिएको बताए । राष्ट्रियसभा अन्तर्गतका समितिबाट पनि उल्लेख्य काम भएको उनको भनाइ छ । समितिबाट महत्त्वपूर्ण अध्ययन भई प्रतिवेदन तयार पारिएको र विधेयक माथि पर्याप्त छलफल भएको पनि सांसद रोकायले दाबी गरे । फागुन २१ गतेको निर्वाचन शान्तिपूर्ण रूपमा तोकिएको समयमै सम्पन्न हुन्छ वा हुँदैन ? र निर्वाचनको परिणामले मुलुकका विद्यमान समस्याबाट निकास दिन्छ वा दिँदैन भन्नेजस्ता अझै बाँकी रहेको उनले उल्लेख गरे ।

सांसद गोपाल भट्टराईले पनि निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न हुनुपर्नेमा जोड दिए । जेनजी प्रदर्शन पछि सुरक्षा निकायको मनोबल कमजोर भएको उल्लेख गर्दै उनले आन्दोलनका क्रममा लुटिएका हातहतियार र कारागारबाट भागेका कैदीहरू नियन्त्रणमा आउन नसकेका कारण पनि सुरक्षा चुनौती रहेको बताए । निर्वाचन आचारसंहिताविपरीत समाज कल्याण परिषद्का कर्मचारी हटाइएको विषय पनि उनले सदनमा उठाए ।

सांसद तुलप्रसाद विश्वकर्माले राष्ट्रियसभाको १९औँ अधिवेशनमा छोटो समयमा महत्त्वपूर्ण काम गर्न सकिएको बताए । देशको परिस्थिति अन्योलपूर्ण अवस्थामा चुनावमा जानुपर्ने बाध्यता अहिले रहेको पनि उनले बताए । शान्तिसुरक्षा कायम गर्न सरकार दत्तचित्त भएर लाग्नुपर्ने पनि सांसद विश्वकर्माको धारणा थियो । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्नलाई कारबाही हुन नसकेको विषय पनि उनले उठाए ।

आजको बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्र पढेर सुनाएका छन् । राष्ट्रियसभाको १९औँ अधिवेशन शुक्रबार राति १२ः०० बजेदेखि अन्त्य हुँदैछ । रासस