महेन्द्रनगर (धनुषा), ४ फागुन । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
नेपाल प्रेस युनियन मधेस प्रदेश कार्यसमितिद्वारा जनकपुरमा आयोजित ‘निर्वाचन विशेष अभियान २०८२’ मधेस प्रदेशस्तरीय रणनीतिक बैठकलाई आज सम्बोधन गर्दै नेपाली कांग्रेसका मधेस प्रदेश सभापति समेत रहेका यादवले लोकतन्त्र सुदृढीकरणका लागि तथ्यपरक, सन्तुलित र जिम्मेवार पत्रकारितामा जोड दिँदै गलत सूचना र भ्रामक प्रचारप्रति सचेत रहन सञ्चारकर्मीहरूलाई आग्रह गरे ।
उनले मधेस प्रदेशमा विकास, सुशासन र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध रहेको दोहो¥याउँदै जनताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै निर्वाचनका बेला सत्य र प्रमाणमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।
उनले पत्रकारहरूको पेसागत सुरक्षा र हकहित संरक्षणमा सङ्गठन प्रतिबद्ध रहेको धारणा व्यक्त गरे । “प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो, त्यसको रक्षा गर्दै जनतालाई सही सूचना दिनु हाम्रो दायित्व हो”, उनले भने ।
बैठकमा प्रदेशका सञ्चारकर्मी, युनियनका पदाधिकारी तथा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । रासस




प्रतिक्रिया