टी-२० विश्वकप : आज स्कटल्याण्डसँग नेपालको प्रतिष्ठाको लडाई


काठमाडौं, ५ फागुन । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज हुने समूहचरणको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्याण्डको सामना गर्दैछ । मुम्बईस्थित वानखेडे स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुकी ७:१५ बजे शुरू हुनेछ ।

आजको खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाई हुनेछ । दुवै टोली यसअघिनै प्रतियोगोताबाट बाहिरिसकेका छन् । टेस्ट राष्ट्रलाई स्तब्ध बनाउँदै सुपर आठमा पुग्ने लक्ष्यसहित भारत पुगेको नेपाल पहिलोपटक विश्वकपमा सहभागिता जनाएको इटालीसँग सतब्ध हुँदै समूहचरणबाटै बाहिरिएको छ ।

पहिलो खेलमा इंग्ल्याण्डसँग ४ रनको झिनो हार बेहोरेको नेपाल दोस्रो खेलमा इटालीसँग १० विकेट र तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको थियो । पहिलो खेलमा बाहेक नेपालको बलिङ र ब्याटिङ दुवै पक्ष चल्न सकेन । इंग्ल्याण्डविरुद्ध उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेको नेपाल त्यसपछिको दुई खेलमा खुलेर खेल्न सकेन । यता यस विश्वकपमा नेपालको बलिङपनि सोचे अनुरुप हुन नसक्दा नेपाल तीन खेलमा पराजित हुन पुगेको थियो ।

त्यसैले नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । यता स्कटल्याण्डपनि आज दोस्रो जित निकाल्ने दाउमा रहेको छ । बंगलादेशले विश्वकपमा सहभागिता नजनाएपछि उच्च वरीयताको आधारमा अन्तिम समयमा विश्वकपमा इट्री पाएको स्कटल्याण्डले तीन खेलमा एक जित र दुई हारको नतिजा निकालेको छ ।

पहिलो खेलमा वेस्ट इन्डिजसँग ३५ रनले पराजित हुँदै प्रतियोगिताको शुरुवात गरेको स्कटल्याण्डले दोस्रो खेलमा इटालीमाथि ७३ रनको जित निकालेको थियो । तेस्रो खेलमा भने स्कटल्याण्ड इंग्ल्याण्डसँग ५ विकेटले पराजित भएको थियो । हाल स्कटल्याण्ड तीन खेलबाट दुई अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा रहेको छ भने समान खेलबाट अंक विहीन नेपाल पुछारमा रहेको छ ।

दुई टोलीबीच गत जुनमा भएको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्ड र नेपालले एक/एक खेल आफ्नो पक्षमा पारेको थिए ।