ढाका पुगे परराष्ट्रमन्त्री शर्मा


काठमाडौं, फागुन ५ । बंगलादेशको नवनिर्वाचित सरकारको पद तथा गोपनीयता शपथ ग्रहण समारोहमा सहभागी हुन नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्मा सोमबार राति ढाका पुगेका छन् ।

हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शर्मा र नेपाली प्रतिनिधिमण्डललाई बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बंगलादेशको परराष्ट्र मन्त्रालयका सचिव डा.मोहम्मद नजरुल इस्लामले भव्य स्वागत गरेका थिए। बंगलादेशमा सम्पन्न १३ औं संसदीय निर्वाचनपछि गठन हुन लागेको नयाँ सरकारको स्वागतका लागि नेपालले उच्चस्तरीय प्रतिनिधित्व पठाएको हो।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले बंगलादेशमा सफलतापूर्वक संसदीय निर्वाचन सम्पन्न भएकोमा त्यहाँको सरकार र जनतालाई बधाई दिएकी थिइन्।

बङगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले आज नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिँदै छन्। उनको शपथग्रहण समारोहमा शेख हसिनालाई आश्रय दिइरहेको छिमेकी भारतसहित १३ देशका अतिथिलाई निम्ता गरिएको छ ।

रहमानको शपथ समारोह परम्परागत रूपमा राष्ट्रपति भवनमा नभई ढाकामा रहेको राष्ट्रिय संसद् भवन परिसरको साउथ प्लाजामा आयोजना गरिएको छ । स्थानीय समय अनुसार बिहान १० बजे सांसदको शपथ र दिउँसो ४ बजे प्रधानमन्त्रीसहित मन्त्रीहरुको शपथको तयारी भैरहेको स्थानिय सञ्चारमाध्यमले जनाएका छन् ।

बङ्गलादेशले निमन्त्रणा पठाएका १३ देशमा नेपालसहित चीन, भारत, मलेसिया, साउदी अरब, टर्कीए, पाकिस्तान, युएइ, कतार, ब्रुनाइ, श्रीलंका, माल्दिभ्स र भुटान रहेका छन् । गएको बिहीबार सम्पन्न चुनावमा बीएनपीले दुई–तिहाईभन्दा धेरै सिट जितेको छ ।