काठमाडौं, फागुन ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की मधेश प्रदेश सभापति ममता शर्माले गम्भीर आरोप लगाउँदै पार्टी परित्याग गरेकी छन् । उनले पार्टीभित्र आर्थिक अनियमितता बढेको,इमान्दारिताको कदर नभएको आरोप लगाउँदै साधारण सदस्यबाट समेत राजीनामा दिएकी हुन् ।
संस्थापक सभापति शर्माले विज्ञप्ति जारी गर्दै आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएको दावी गरेकी छन् । राजीनामा पत्रमा उनले पार्टीमा युवा पुस्ता र योग्यतालाई प्राथमिकता दिने नाराले प्रेरित भएर योगदान दिएको तर अहिलेको निर्वाचन पद्धति, निर्णय र कार्यशैली मूल मूल्य, विधान र प्रतिबद्धताविपरीत भएको उल्लेख गरेकी छन् । पार्टीमा इमानदार व्यक्तिहरुको मूल्यांकन नभएको र आर्थिक अनियमितता भएको आरोप लगाउँदै पार्टीमा बस्न नसकेको बताएकी छिन् ।
।
उनले क्षमतावान कार्यकर्ताको मूल्यांकन नभएको, विधानविपरीत क्रियाकलाप, सिद्धान्त कार्यान्वयन नहुने र मुख्य रूपमा आर्थिक अनियमितताबाट निर्णय प्रभावित भएको आरोप लगाउँदै आत्मसम्मानमा आँच आएकाले मौन रहन नसकेर राजीनामा दिएको जनाएकी छन् ।
उनले भनेकी छन्,
मिति:- २०८२/११/६
केन्द्रीय कार्यालय
राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं, नेपाल।
विषय: साधारण सदस्यबाट समेत नरहने गरी राजीनामा सम्बन्धमा।
श्रद्धेय,
म रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति तथा वर्तमानमा केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यको हैसियतले २०७९ श्रावण १० गतेदेखि आजसम्म आफ्नो योग्यता, क्षमता, दक्षता र समय समर्पित गर्दै पार्टीप्रति निस्वार्थ भावले निरन्तर योगदान पुर्याउँदै आएकी छु।
“राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आबद्ध भएकी थिएँ। तर आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरीत भएको अनुभव गरेकी छु।
संगठनमा दिनरात खटिएका क्षमतावान् घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको , पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मूलतः आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरू माथि आँच आउने परिस्थिति बनेको छ; यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु।
त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यश पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजीनामा पेस गर्दछु।
यस अवधिसम्म पार्टीले दिएको अभिभावकत्व, सहकार्य र अवसरका लागि हार्दिक आभार व्यक्त गर्दछु।
धन्यवाद।
भवदीय,
ममता शर्मा
बारा, मधेस प्रदेश




प्रतिक्रिया