ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, संयोजक हर्कबोल राईद्वारा सबैलाई सक्रिय हुन आह्वान


ओखलढुङ्गा,६ फागुन । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी अभियान तीव्र बन्दै गएको छ। पार्टीका जिल्ला संयोजक तथा संविधान सभा सदस्य हर्कबोल राईले सबै कार्यकर्ता, शुभेच्छुक र आम मतदातालाई उम्मेदवार अस्मिता थापालाई विजयी बनाउन एकजुट भएर सक्रिय हुन आह्वान गरेका छन्।

राईले भनेका छन्, “यो निर्वाचन केवल व्यक्तिगत प्रतिस्पर्धा होइन, देश र जनताको भविष्यसँग सम्बन्धित अवसर हो। युवा शक्ति र महिलाको नेतृत्वलाई सशक्त बनाउँदै ओखलढुङ्गालाई समृद्ध बनाउनु हाम्रो साझा जिम्मेवारी हो।”

उनले जिल्ला बाहिर रहेका समर्थकलाई पनि सकेसम्म जिल्ला फर्किएर घरदैलो, भेटघाट र प्रचार-प्रसारमा सहभागी हुन आग्रह गरेका छन्। उनका अनुसार अहिले जिल्लाभरि टोल-टोलमा प्रचार कार्यक्रम र सामाजिक सञ्जालमार्फत उम्मेदवारको एजेन्डा प्रचार भइरहेको छ।

नेकपा (एमाले)ले युवा तथा सक्षम नेतृत्वका रूपमा अस्मिता थापालाई उम्मेदवार बनाएको छ। राईले सबै मतदातासँग प्रत्यक्ष संवाद गरी विकास, सुशासन र समृद्धि सम्बन्धी पार्टीको एजेन्डा घर-घर पुर्‍याउन आग्रह गरेका छन्।

अन्त्यमा उनले सबैमा अपिल गरेका छन्, “आउनुस्, हामी सबै एकजुट भएर सूर्य चिन्हमा मतदान गरी अस्मिता थापालाई विजयी बनाऔँ। यो केवल उम्मेदवारको जित होइन, देश र जनताको जित हो।”

ओखलढुङ्गामा अहिले घरदैलो, अन्तरक्रिया र भेटघाट कार्यक्रमहरू तीव्र रूपमा सञ्चालन भइरहेका छन्, जसले मतदातामा उत्साह जगाएको एमालेले जनाएको छ। आफ्नो पकडलाई थप मजबुत बनाउँदै जितको नजिक पुगेको दाबी एमालेले गरेको छ।