ओखलढुङ्गामा एमाले उम्मेदवार अस्मिता थापाको घरदैलो: गाउँगाउँमा उत्साह, विकास र सुशासन मुख्य एजेन्डा


ओखलढुङ्गा, ६ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै ओखलढुङ्गामा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। नेकपा (एमाले) की युवा उम्मेदवार अस्मिता थापाले जिल्लामा आफ्नो ‘घरदैलो तथा मतदाता भेटघाट’ अभियानलाई तीव्रता दिएकी छन्।

अभियानका क्रममा थापालाई स्थानीयवासीले भव्य स्वागत गर्दै ऐक्यबद्धता जनाएका छन्। मङ्गलबार चम्पादेवी गाउँपालिकाका विभिन्न स्थानमा आयोजित भेटघाटमा मतदाताको उल्लेख्य सहभागिता देखिएको थियो। युवा र नयाँ अनुहार चुनावी मैदानमा उत्रिएपछि ओखलढुङ्गाका मतदातामा विशेष उत्साह देखिएको स्थानीय नेताहरूको दाबी छ।

जनगुनासो सुन्दै, प्रतिबद्धता जनाउँदै

चुनावी अभियानका क्रममा थापाले परम्परागत भाषणभन्दा पनि मतदाताका घरआँगनमै पुगेर स्थानीय समस्या सुन्ने कार्यलाई प्राथमिकता दिएकी छन्। उनले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र विशेष गरी युवा स्वरोजगारका विषयलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएको बताएकी छन्।

भेटघाटका क्रममा उम्मेदवार थापाले भनिन्, “म केवल भोट माग्न मात्र आएकी होइन, तपाईंका समस्यालाई नजिकबाट बुझ्न आएकी हुँ। म तपाईहरूको विश्वास र मायालाई कहिल्यै धोका दिने छैन। प्रतिशोध वा आलोचनाको राजनीतिभन्दा माथि उठेर विकास र समृद्धिको एजेन्डासहित म तपाईंहरूकै साथमा रहनेछु।”

महिला र युवाको विशेष साथ

एक सशक्त युवा महिला उम्मेदवारका रूपमा प्रस्तुत भएकी थापालाई जिल्लाका महिला र युवा मतदाताले भरोसाको केन्द्र मानेका छन्। समावेशी र परिणाममुखी नेतृत्वको खोजी भइरहेका बेला थापाको उम्मेदवारीले ओखलढुङ्गामा नयाँ राजनीतिक तरंग पैदा गरेको विश्लेषण गर्न थालिएको छ।

थापाले आफ्नो कार्यकालमा महिला सशक्तीकरण र सुशासनका क्षेत्रमा ठोस काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन्। घरदैलोमा सहभागी स्थानीय वृद्धवृद्धाहरूले समेत उनलाई आशीर्वाद दिँदै गाउँको मुहार फेर्ने नेतृत्वको अपेक्षा राखेका छन्।

थापा निर्वाचन नजिकिँदै गर्दा जनताको मन जितेरै परिणाम आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ उनी अहिले गाउँ-बस्तीमा पुगिरहेकी छन् ।