काठमाडौं, फागुन ७ । आर्थिक अनियमितताको आरोप लगाउँदै रवि लामिछाने र बालेन्द्र साह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अर्का नेताले पनि पार्टी छोडेका छन् । रास्वपाका बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पार्टी परित्याग गरेका छन् । उनले प्रदेश उपसभापति पद र साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन्।
हुमागाईँले उम्मेदवार छनोट प्रक्रिया विधान, मापदण्ड र आन्तरिक लोकतन्त्रविपरीत सञ्चालन गरिएको आरोप लगाएका छन्। वर्षौँदेखि पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको उनको भनाइ छ।
उनले राजीनामा पत्रमा रास्वपा छाड्नुका ७ कारणहरु खुलाउँदै उम्मेदवार छनोटमा चरम आर्थिक चलखेल भएको, केन्द्रीय संरचना विस्तार तथा सदस्यता तथा आर्थिक व्यवस्थापनमा अपारदर्शीता देखिएको लगायतका आरोप लगाएका छन् । उनी ०७९ को प्रतिनिधिसभा निर्वाचनमा एवं काभ्रे-२ का उम्मेदवार भएका थिए।
यसअघि रास्वपा संस्थापक सदस्य खेमकुमारी भुर्तेल (उर्मिला)ले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी थिइन् ।०७९ को चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार रहेकी उनले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी त्याग्ने निर्णयमा पुगेको बताएकी छन् ।
त्यस्तै, नेतृत्वको कार्यशैलीमाथी प्रश्न उठाउँदै मधेश प्रदेश सभापति ममर्ता शर्माले पनि पार्टी परित्याग गरेकी छन् । नेतृत्वपंक्ति आर्थिक अनियमिततामा डुबिसकेको आरोप लगाउँदै उनले बुधबार बिहान राजीनामा दिएकी हुन् । जेनजी आन्दोलनपछि रास्वपाका प्रभावशाली नेताहरूले धमाधम पार्टी छोडिरहेका छन् । जसमध्ये सन्तोष परियार र सुमना श्रेष्ठ चर्चित र चिनिएका अनुहार हुन् ।




प्रतिक्रिया